नायिका बस्नेतलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना


 


काठमाडौं, जेठ ३०
नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएकी छिन् । कोरोना संक्रमितको परिचय गोप्य राखिन्छ । तर नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी छिन्, त्यो पनि सामाजिक संजालमार्फत् । उनले अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।

बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको जानकारी गराएकी हुन् । बस्नेतले फिल्म ‘जानी नजानी’मा अभिनय गरेकी छिन्। उनी केही समयदेखि भारतीय फिल्मनगरी मुम्बईमा छिन् ।

मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको नायिका बस्नेतले जनाएकी छिन् ।‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु’, उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको नायिका बस्नेतले बताएकी छिन् । नायिका बस्नेत हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छन् ।

तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् । दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्