यातायात व्यवसायीको गुनासो: ‘ऋणको डरले निद्रा लाग्दैन’



पोखरा, जेठ ३१
कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले भने, ‘सरकारको यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण कहिल्यै सही भएन । अहिलेको विषम परिस्थितिमा यो व्यवसायका लागि सरकारले कुनै पनि योजना निर्माण गर्न सकेको छैन । हाम्रो पीडा बुझिदिने कोही भएनजस्तो लाग्न थाल्यो ।’ सो कम्पनीका एक हजार पाँच सय सवारी थन्किएका छन् ।

जसले गर्दा यातायात व्यवसायी किस्ता तिर्नसक्ने अवस्थामा छैनन् । केसी भन्छन, ‘हामीले किस्ता रकम तिरिदिन सरकार र माननीयज्यूहरूलाई भनेका थिएनौँ, मात्र समय थप गरिदिन भनेका थियौँ तर सरकारले हाम्रो कुरो सुनेन ।’ यस्तो विषम परिस्थितिलाई हेरेर बैङ्कको ब्याज र किस्तालाई सहुलियत र छ महिना समय व्यवस्थापन गरिदिनका लागि बजेटअघि नै सरकारसँग माग गरेको स्मरण गराए ।

अरू उद्योगीले उठाएका कतिपय मागको सम्बोधन भएको तर आफ्नो मागको सुुनुवाइ पनि नभएको गुनासो यातायात व्यवसायीको छ । उनले भने, ‘तीन महिना भयो, सवारीसाधन चलेका छैनन् । यातायात व्यवसायीका घरपरिवार कसरी बाँचेका होलान् भन्नेसम्मको ध्यान सरकारको जान सकेको छैन ।’

यातायात व्यवसायीले आफूहरू बेसहाराजस्तो भएको अनुभव सुनाउन थालेका छन् । व्यवसायी केसीले भने, ‘बैङ्क तथा वित्तीय संस्थाबाट फोन आउँछ । किस्ता र ब्याज कसरी तिर्ने ? सवारीसाधनको तालाचाबी, कागजपत्र बुझाउनुको अन्तिम विकल्प छैन । व्यवसायीलाई रातभर निन्द्रा नलाग्ने अवस्था भएको छ ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News