गरिमा विकास बैंकले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गर्‍यो



काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ।

बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनलगरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको जनाएको छ।

गरिमा प्रिपेड डलर कार्डमार्फत ग्राहकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सक्नेछन्।

त्यस्तै, गरिमा पीओएस टर्मिनल सेवाबाट व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यस सेवाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै व्यापारिक कारोबारलाई थप व्यवस्थित बनाउनेछ।

यसैगरी, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल एपबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकका जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आएको गरिमा विकास बैंकले आगामी दिनमा पनि नवीन प्रविधिमा आधारित सेवा विस्तार गर्दै ग्राहकलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

Provide your feedback on BizChat

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्