एनएमबी बैंकद्वारा सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु



काठमाडौँ । एनएमबी बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकहरूको स्थानीय पहिचान र विशिष्ट वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

डिजिटल बैंकिङ र बचत संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत बैंकले कोशी प्रदेशका लागि ‘कोशी बचत खाता’, मधेसका लागि ‘मिथिला बचत खाता’, बागमतीका लागि ‘बागमती बचत खाता’, गण्डकीका लागि ‘फेवा बचत खाता’, लुम्बिनीका लागि ‘बुद्ध भूमि बचत खाता’, कर्णालीका लागि ‘रारा बचत खाता’ र सुदूरपश्चिम प्रदेशका लागि ‘खप्तड बचत खाता’ गरी सातवटै प्रदेशका लागि विशेष बचत खाताहरू सञ्चालनमा ल्याएको छ ।

यस खाता खोल्ने ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्डका साथै डिम्याट र मेरो सेयर खाता दर्ताको निःशुल्क सुविधा प्राप्त गर्नेछन् ।

देशका सबै भागमा सजिलो, आधुनिक र प्रविधिमैत्री बैंकिङ सेवा पुर्‍याउने लक्ष्य लिएको एनएमबी बैंकले हाल देशभर रहेका आफ्ना १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार