माछापुच्छ्रे बैंकमा अर्याल वरिष्ठ डेपुटी सीईओ, जमरकटेल डेपुटी सीईओमा बढुवा
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले वरिष्ठ नेतृत्व तहमा पदोन्नति गर्दै प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) तथा सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा बढुवा गरेको छ।
बैंकको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धक जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका अर्यालसँग कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत बैंकिङ क्षेत्रको दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनी यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन्।
त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट सुभाष जमरकटेल वित्तीय तथा बैंकिङ क्षेत्रका अनुभवी व्यवसायिक व्यक्तित्वका रूपमा परिचित छन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुनमा स्नातक गरेका छन्। साथै, थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।
बैंकका अनुसार अर्याल र जमरकटेल दुवैले आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेका छन् र बैंकिङ क्षेत्रका सक्षम, अनुभवी तथा सफल बैंकरका रूपमा परिचित छन्।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







