पेनाल्टीमा चुके रोनाल्डो


 


युभेन्टस, जेठ ३१
इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १(१ को बराबरीमा सकिएको थियो ।

दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न भने सकेनन् । उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो । एसी मिलानका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहि दिशामा डाइभ हानेपनि बल छुन सकेका थिएनन् ।

अग्रता लिन चुकेपानी केहीबेरमा नै युभेन्टसले केहि राहत पायो । रोनाल्डोको पेनाल्टी प्रहार फर्केको बलमा एसी मिलानले काउन्टर गर्ने क्रममा लामो बल खेलाएको थियो । हावामा रहेको उक्त बल रोक्ने प्रयासमा आन्टे रेबिचले युभेन्टसका डिफेन्डर ड्यानीलोमाथि डरलाग्दो फल प्रहार गर्दा रेफ्रीले सिधै रातो कार्ड देखाए ।

२३ औं मिनेटमा रोनाल्डोको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । ३१ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर ब्लेस माटुइडीले उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र नजिकबाट गरेको प्रहार गोलरक्षकले विफल पारिदिए । पहिलो हाफको इन्ज्युरी समयमा लिओनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफको सुरुवातमा नै एसी मिलानका हाकन चाल्हानोग्लुको हेडरले पोस्टको दिशा लिन सकेन । एक खेलाडी कम खेलेपनि मिलानले खेलमा युभेन्टसलाई दबाब बनाउन दिएन । युभेन्टसले दोस्रो हाफमा मिडफिल्ड नै परिवर्तन गरेपनि अग्रता लिन भने संघर्ष जारी रहयो ।

८० औं मिनेटमा पाउलो डिबालाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक डोनारुम्माले उत्कृष्ट ढंगले बचाए । लगत्तै कर्नरमा युभेन्टसले फाइदा उठाउन सकेन । इन्ज्युरी समयको चौथो मिनेटमा एलेक्स सान्ड्रोको प्रहार डोनारुम्माले बचाएपनि मिलानको यात्रा सेमिफाइनलमा सिमित भयो ।

युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पहिलो लेगमा नेपोलीले इन्टरमाथि १–० को जित दर्ता गरेको थियो । दोस्रो लेग नेपोलीको मैदानमा शनिबार हुनेछ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्