बार्सिलोनाको सहज जीत, शीर्षस्थानमा फराकिलो अग्रता


 


बार्सिलोना, असार ३
साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती लेगानेसविरुद्ध जित हासिल गरेको छ ।

घरेलु मैदानमा २–० को जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।

क्याम्प नोउमा भएको खेलको सुरुवाती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा लेगानेसले त्यसको महँगो मूल्य चुकाउनु पर्यो ।

मिगुएल एन्जल गुरेरोले २ मिनेटको अन्तरमा २ अवसर सदुपयोग गर्न नसक्दा पाहुना टोली लेगानेसले अग्रता लिनबाट चुकेको थियो । १२ औं मिनेटमा गुरेरोको प्रहारलाई क्लेमेन्ट लेङलेटले गोललाइनबाट क्लियर गरेका थिए । पेनाल्टी क्षेत्रभित्र लगातार तीन अवसर पाएको लेगानेसले अन्त्यमा गोलरक्षकलाई बिट गरेपनि गोल गर्न भने सकेन । त्यसको दुई मिनेटमा नै गुरेरोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको ४१ औं मिनेटमा बार्सिलोनाले अन्सु फातीको गोलमा अग्रता लिएको थियो । जुनिअर फिर्पोको पासलाई पेनाल्टी क्षेत्रको ठिक भित्र रहेका फातीले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा उत्कृष्ट फिनिस गरेका थिए । ४४ औं मिनेटमा सर्जी रोबर्टोको क्रसमा लिओनेल मेस्सीको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो गाफ्को ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भीएआरको सहायता लिँदै गोललाई मान्यता दिएनन् । त्यसको ४ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो । लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

खेलको ८७ औं मिनेटमा आर्टुरो भिडालको थ्रु पासमा रिकी पुजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक क्वेलारले बचाए । त्यसै बचाउपछिको कर्नरमा आएको रिबाउन्डमा पुजको प्रहार पुनस् गोलरक्षकले विफल पारे । लगत्तै अर्कोतर्फ बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले पनि केभिनको फ्रिकिकमा उत्कृष्ट बचाउ गरे ।

इन्ज्युरी समयमा लुइस सुआरेजले बललाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । लगत्तै रेफ्रीले बेन्चमा अभद्र व्यवहार देखाएको भन्दै लेगानेसका प्रशिक्षक जाभिएर अगिर्रेलाई रातो कार्ड देखाए ।

यस जितसँगै बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक बनाएको छ । रियलले बिहीबार भ्यालेन्सियाको सामना गर्नेछ । लेगानेस भने २९ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पुछारमा नै रहेको छ ।

प्रकाशित मिति: ३ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्