विश्वकप छनोट तयारीमा नेपाल


 


काठमाडौं, असार ६
विश्वकप छनोटको तयारी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद् राखेपमार्फत सरकारको अनुमति लिन प्रयास थालेको छ ।

एन्फा कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले जुलाईमा राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार एन्फाले राखेपलाई पत्राचार गर्दै युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सम्बन्धित अन्य निकायबाट अनुमति लिन प्रयास थालिएको राष्ट्रिय टोलीका व्यवस्थाक मधुसुदन प्याकुरेलले जानकारी दिए ।

प्याकुरेलका अनुसार साउनको सुरुवातबाट प्रशिक्षण सुरु गर्ने गरि अनुमति मागिएको बताए । राष्ट्रिय टोलीको प्रशिक्षण अघि खेलाडीहरुको पिसिआर प्रशिक्षणका लागि पनि राखेपमार्फत पहल भइरहेको उनले जानकारी दिए । खेलाडीलाई एन्फा एकेडेमीकै होस्टलमा राख्नुका साथै अन्य सुरक्षा सतर्कता अपनाईने तयारी भइरहेको पनि एन्फा केन्द्रीय सदस्य समेत रहेका प्याकुरेलले जानकारी दिए ।

एसियाली फुटबल महासंघ एएफसीले असोज २२ गते विश्व कप छनोटको स्थगित खेल्ने यसअघि नै जानकारी गराइसकेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ का कारण चैतमा हुनु पर्ने विश्वकप छनोट स्थगित भएको थियो । नेपालले विश्व कप छनोटका अब ३ वटा खेल खेल्न बाँकी छ । ती सबै खेल दशरथ रंगशालामा हुनेछन् ।

तयारी र अन्य विषयमा छलफल गर्न शुक्रबार खेलाडी, प्रशिक्षक र सम्बन्धित व्यक्तिहरुबीच अनलाइन बैठक बसेर छलफल भएको एन्फाले जनाएको छ । छलफलका क्रममा खेलाडीले चाडो भन्दा चाडो विश्व कप छनोटका लागि तयारी थाल्न सुझाव दिएका थिए ।

व्यक्तिगत रुपमा फिट हुने प्रयास गरेपनि म्याचका लागि भने तयार हुन केहि समय लाग्ने बताएको प्याकुरेलले बताए । सो छलफलमा स्वीडेनमा रहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन, अष्ट्रेलियामा रहेका प्राविधिक निर्देशक ग्यारी फिलिप्स, फिजियो आविष्कार पुडासैनी र डाक्टर राजु डंगोल पनि सहभागी थिए ।

प्रशिक्षक कालिन र फिलिप्सले कोरोना १९ को संक्रमण झन् झन् बढेको अवस्थामा रहेकोले फिफा र डब्लुएचओको निर्देशनका लागि अनिवार्य रुपमा पालना गरि प्रशिक्षण थाल्नुपर्ने सुझाएका बताइएको छ । त्यस्तै फिजियो पुडासैनी र डाक्टर डंगोलले पनि खेलाडीको स्वास्थ्यलाई लिएर सर्तकता अपनाईनेमा आश्वस्त पारे ।

प्रकाशित मिति: ६ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्