नयाँ कोसेढुंगामा रामोसः सर्वाधिक गोलकर्ता डिफेन्डर


 


मड्रिड, असार ८ एजेन्सी

स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान तथा स्पेनिस राष्ट्रिय टोलीका डिफेन्डर सर्जियो रामोस स्पेनिस ला लिगमा सर्वाधिक गोल गर्ने डिफेन्डर बनेका छन् ।

आइतबार रियल सोसीडाडविरुद्ध २–१ को जितमा रामोसले रियलका लागि पहिलो गोल गरेका थिए । रामोसले पेनाल्टीमार्फत गोल गर्दै सिजनको सातौं गोल गरे । यसक्रममा उनले ला लिगा करिअरमा ६८ गोल पनि पूरा गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका हुन् ।

यसअघि यस कीर्तिमान बार्सिलोनाका डिफेन्डर रोनाल्डो कोम्यानको नाममा रहेको थियो । कोम्यानले क्याटलान क्लबका लागि खेल्दै लिगमा ६७ गोल गरेका थिए । रामोसले सोसीडाडविरुद्ध गोल गर्दै खेल जिताए पनि उनले पूरा समय भने मैदानमा बिताउन सकेनन् । उनी चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

रामोसले सन् २००४ मा सेभिल्लाबाट खेल्दै स्पेनिस ला लिगामा डेब्यु गरेका थिए । उनले सेभिल्लाबाट पहिलो सिजनमा नै २ गोल गरेका थिए । सन् २००५ मा रियल म्याड्रिड आएका उनले समान ४–४ पटक स्पेनिस ला लिगा र च्याम्पियन्स लिग जितेका छन् ।

राष्ट्रिय टोलीबाट खेल्दै २ पटक युरो कप र एकपटक विश्वकप जितेका रामोस अझैपनि मुख्य खेलाडीमा पर्छन् । उनले लिगमा ६८ सँगै समग्रमा क्लबका लागि सयभन्दा बढी गोल गरेका छन् । उनले रियलको जर्सीमा सन् २००५ मा मालागाविरुद्ध पहिलो गोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्टस गएपछि रामोसले रियलको पेनाल्टी हान्ने जिम्मेवारी पाएका थिए । त्यसैले पनि उनको गोलसंख्या पछिल्लो समय बढ्दो छ । सोसीडाडविरुद्धको पेनाल्टी रामोसको लिगमा चौथो पेनाल्टी गोल थियो । उनले च्याम्पियन्स लिगमा पनि एक पेनाल्टी गोल गरेका छन् । हालसम्म १७ पटक पेनाल्टी प्रहार गरेका रामोसले १ पटक मात्र गोल गर्नबाट चुकेका छन् ।

सोसीडाडविरुद्ध खेलमा सर्जियो रामोस घुंडाको चोटका कारण दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । फरवार्ड एलेक्जेन्डर इसाकसँग घुँडा जुध्दा उनी घाइते भएका थिए । खेलपछि जिदानले उनको प्रशंसा गर्दै चोटबारे पनि जानकारी दिए ।

‘ खेल सकिएलगत्तै पनि उनको घुँडामा निकै दुखाइ महसुस भएको थियो । हामीले हेर्दा सामान्य चोट जस्तो देखिएको छ । अब भोली स्थिति हेरेपछि आवश्यक हुँदा विस्तृत परिक्षण गर्नुपर्ने हुन्छ,’ जिदानले भने, ‘ उनी विश्वका सर्वोत्कृष्ट डिफेन्डर हुन् । उनले आफ्नो प्रभाव सबै टोलीमा छाडेका छन् ।’

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्