जब पाकिस्तानसामु भारत निरीह बन्यो


 


काठमाडौं, असार ८ एजेन्सी

सन् २०१७ जुन १८ । द ओभल, इंग्ल्यान्डको मैदानमा च्याम्पियन्स ट्रफी फाइनल हुँदैथियो । भारत विरुद्ध पाकिस्तान भिड्दैथियो ।

पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिर र हसन अलीको लय अनि भारतीय ओपनर शिखर धवन र रोहित शर्माको जोडीको उत्कृष्ट प्रर्दशनले फाइनल रोचक हुने अपेक्षा धेरैले गरेका थिए । भारत समुह चरणको सहज जितलाई निरन्तरता दिन चाहन्थ्यो । यता पाकिस्तान समुह चरणको खेललाई बिर्संदै फाइनलमा भारतलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको थियो ।

कागजी रुपमा भारत धेरै बलियो टोली थियो । त्यसैले भारतले फाइनलमा एकतर्फी प्रदर्शन गर्दै सहज रुपमा उपाधि जित्ने हो की भन्ने चिन्ता पनि आम दर्शकमा थियो । तर पाकिस्तानले नतिजा ठ्याक्कै उल्टो निकाल्दै उपाधि जितेको थियो ।

भारतीय कप्तान विराट कोहलीले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिए । त्यसै वर्षदेखि भारतीय सिमित ओभरको कप्तानी सम्हालेका विराट पहिलो आइसिसी उपाधि दिलाउँदै महेन्द्र सिंह धोनीको पथमा हिड्न चाहन्थे । उच्च प्रर्दशन गर्दै आएका कोहलीको भारतीय समर्थकमाझ वाहवाही हुँदा धोनीको भने आलोचना भई रहेको थियो ।

भारतीय सबै समर्थक र शुभचिन्तक ट्रफी जित्नेमा आशावादी थिए । समुह चरणको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लेविस १ सय २४ रनको फराकिलो अन्तरले हराएको थियो । पहिलो खेलमा फराकिलो हार बेहोरे पनि पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतीको आधारमा १९ रन श्रीलंकालाई ३ विकेटले हराउँदा सेमिफाइनलमा पुगेको थियो ।

पाकिस्तानले सेमिफाइनलमा इंग्ल्यान्डलाई ८ विकेटले हराउँदै आश्चर्यजनक रुपमा फाइनलमा पुगेको थियो । यता समुह चरणमा श्रीलंकासँग अप्रत्याशित ७ विकेटको हार बेहोरेको भारतले पहिलो खेलमा पाकिस्तान र अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदै नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भारतले बंगलादेशलाई सहज जित निकाल्ने क्रममा ९ विकेटले हराएको थियो ।

फाइनलमा पाकिस्तानका ओपनर फखर जमान र अजहर अलीले भारतलाई सुरुवातमै निराश बनाए । यसै प्रतियोगितामा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका फखरले आक्रामक सुरुवात दिलाउँदै पाकिस्तानलाई सुरुवाती तीन खेलमै ठूलो आशा जगाएका थिए । ब्याटिङका लागि परिचित द ओभल मैदान पाकिस्तानका ब्याट्सम्यानलाई कुनै दबाब थिएन ।

हजारौं दर्शकका सामु पाकिस्तान भन्दा बढी दबाब भारतलाई थियो । यी दुई देशमात्र होईन विश्वलेनै निकै महत्वपुर्ण साथ हेरेको थियो । सन् २००९ पछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल फर्काउन खोजिरहेको पाकिस्तान उत्कृष्ट प्रर्दशनका साथ राम्रो सन्देश दिन चाहान्थ्यो । पाकिस्तानका तत्कालिन प्रशिक्षक मिकी आर्थरले भनेका थिए,’हामीलाई गुमाउनु केहि छैन । हामी हाम्रो उत्कृष्ट खेल खेल्ने छौं । दबाब भारतलाई हुनेछ ।’

आर्थरले भने जस्तै पाकिस्तानलाई गुमाउनु केहि थिएन । गुमाउने डर र दबाब त भारतलाई थियो । सुरुवाती तीन ओभरमा भारतीय बलर हाबी देखिएका थिए । जस्प्रित बुमराहको चौथो ओभरको पहिलो बलमा फखर शट खेल्नेक्रममा विकेटकिपर महेन्द्र सिंह धोनीबाट क्याच आउँट हुँदै पेभिलिएन फर्कंदै थिए । जमानको विकेटको खुसी मनाई रहेका भारतीय खेलाडीमा केहि छिनमै निराशा छायो ।

थर्ड अम्पायरले नो बल चेक गरेपछि फखर बाउन्ड्री लाइन नजिकै पुगेर रोकिए । नो बल भएपछि जीवनदान पाएका फकर फेभिलिएन होइन खुसी हुँदै पुनः क्रिजमा फर्किए । वर्तमान क्रिकेटका एक सर्वोउत्कृष्ट तीब्र गतिका बलर बुमराहलाई आफ्नो करिअर भर उक्त नो बलको पक्कै पछुतो लागिराख्ने छ । त्यसपछि भने जमानको आक्रामक ब्याटिङलाई भारतीय बलरले रोक्न सकेनन् ।

११ औं ओभरको दोस्रो बलमा रोहित शर्मा अजहरलाई रन आउट गर्न चुकेका थिए । २३ औं ओभरको अन्तिम बलमा तालमेल नमिल्दा अजहर ५९ रनमा रन आउट हुन पुगे । पहिलो विकेटका लागि १ सय २८ रनको साझेदारी गर्दै पाकिस्तानले उत्कृष्ट सुरुवात गरिसकेको थियो । जमानले भारतलाई पुरै दबाबमा राखे । जमानले ३१ औं ओभरको पहिलो बलमा आश्विनलाई चौका प्रहार गर्दै ९२ बलमा आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतक पुरा गर्दै उत्कृष्ट सेलिब्रेशन गरे । फखरले शतक प्रहार गर्दा भारतको जितको आशा विस्तारै टाढिदै थियो ।

३४ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्यालाई ठुलो सट खेलेका जमान रविन्द्र जडेजाबाट क्याच हुँदै १ सय ६ बलमा १ सय १४ रन बनाउँदै पेभिलिएन फर्किए । मैदानमा १ सय ४२ मिनेट बिताएका जमानले १२ चौका र ३ छक्का प्रहार गर्दै पाकिस्तानलाई विशाल योगफलको राम्रो आधार तयार पारी सकेका थिए । पाकिस्तान उक्त समयमा २००—२ को बलियो अवस्थामा थियो ।

बाबर आजम ४६ रनमा आउट हुँदा मोहम्मद हफिजले अविजित ५७ रन जोडेपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । भारतले अतिरिक्त २५ रन खर्चेको थियो । आश्विनले १० ओभरमा ७० रन र जडेजाले ८ ओभरमा ६७ रन खर्चिदा दुबै विकेटबिहिन बनेका थिए । त्यस्तै बुमराहले ९ ओभरमा ६८ रन खर्चेर विकेट लिन सकेनन् ।

फाइनल खेलको दबाब, विशाल लक्ष्य अनि पाकिस्तानको उत्कृष्ट बलिङ अट्याक सामु उक्त लक्ष्य पुरा गर्न भारतलाई सहज थिएन नै । अर्थात पाकिस्तानको मुख्य हतियार नै बलिङ थियो । त्यसैले पाकिस्तानका खेलाडीको मनोबल उच्च बनि सकेको थियो । अर्कोतर्फ ब्याटिङ पिच र शीर्षक्रमका रोहित शर्मा, शिखर धवन र विराट कोहली राम्रो लयमा हुँदा भारतको सम्भावना पनि उतिनै थियो । तर विशाल लक्ष्य पछ्याउन सुरुवात देखिनै आक्रामक ब्याटिङ गर्नुपर्ने अवस्थामा भारत पुगेको थियो ।

आमिरले भारतीय ओपनर रोहित शर्मालाई पहिलो ओभरको तेस्रो बलमा एलविडब्लू आउट गर्दै शुन्यमा पेभिलिएन फर्काए । आमिरको तेस्रो ओभरको तेस्रो बलमा फस्ट स्लिपमा रहेका अजहर अलीले विराट कोहलीको क्याच ड्रप गर्न पुगेका थिए । उक्त क्याच पाकिस्तानलाई धेरै महँगो पर्न सक्ने अनुमान गरिएको थियो । तर आमिरले लगत्तै अर्को बलमा सादब खानबाट कोहलीलाई ५ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाएपछि पाकिस्तान पुर्णरुपमा हाबी बन्न पुग्यो ।

आमिरलेनै धवनलाई नवौं ओभरको अन्तिम बलमा विकेटकिपर सरफराज अहमदबाट क्याच गराएपछि भारतको उपाधि कठिन बनेको थियो । सादब खानले युवराज सिंहलाई २२ रनमा एलविडब्लू, हसन अलीले महेन्द्र सिंह धोनीलाई ४ रनमा क्याच आउट गराएपछि भारतको उपाधि जित्ने सम्भावना निकै कठिन बनेको थियो । १४ ओभरमा ५५—५ को दयनिय अवस्थामा पुगेको भारतलाई हार्दिक पान्ड्याले ४३ बलमा ६ छक्का र ४ चौका सहित आक्रामक ७६ रन जोड्दै भारतीय समर्थकमा केहि आशा जगाए ।

हार्दिकलाई रविन्द्र जडेजाले २७ औं ओभरको तेस्रो बलमा रन आउट गराएपछि भारतको सम्भावना पूर्णरुपमा अन्त्य भएको थियो । भारत ३०.३ ओभरमा १ सय ५८ रनमा अल आउट भएपछि पाकिस्तानले १ सय ८० रनको फराकिलो जित निकाल्दै पहिलो पटक च्याम्पियन्स उपाधि जितेको थियो । मोहम्मद आमिरले ६ ओभरमा २ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै हसन अलीले ६.३ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिदै जित सहज बनाए । युवा स्पिनर सादब खानको नाममा २ विकेट लिएका थिए । प्रतियोगितामा नायक बनेका हसन अली १३ विकेटसहित म्यान अफ द सिरिज चुनिए ।

‘समुह चरणमा भारतसँग हारेपछि खेलाडीलाई भनेको थिए प्रतियोगिता अझै सकिएको छैन । हामीले धेरै राम्रो क्रिकेट खेल्यौं र फाइनल पनि जित्यौं । यसको सबै श्रेय बलरलाई दिन चाहान्छु । यो उपाधि पाकिस्तान क्रिकेट विकाशको लागि धेरै फाइदाजनक हुने छ । हामीले राम्रो क्रिकेट खेल्नु थियो र गुमाउनु केहि थिएन । हामी च्याम्पियन बन्यौं । यो मेरो देशको लागि सबैभन्दा ठुलो गर्वको क्षण हो’, कप्तान सरफराज अहमदले उपाधि जितेपछि भनेका थिए ।

आइसिसीले सन् १९९८ देखि बंगलादेशबाट सुरु गरेको च्याम्पियन्स ट्रफीको २०१७ अन्तिम संस्करण थियो । च्याम्पियन्स ट्रफीको सट्टा आईसिसीले टि२० विश्वकप २०२१ मा भारतमा गर्दै छ । च्याम्पियन्स ट्रफीको संस्करण अन्तिम भएपनि पाकिस्तान र भारतबीचको त्यो फाइनल खेल दुई राष्ट्र मत मात्र नभएर आम दर्शकका लागि पनि लामो समयसम्म अविस्मरणीय बनिरहने छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्