रोनाल्डोको अर्को कीर्तिमान


 


काठमाडौं, असार ९

इटालियन सिरी ए अन्तर्गत सोमबार राती युभेन्टसले बोलोग्नाको घरेलु मैदानमा २–० को जित दर्ता गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान रचेका छन् ।

रोनाल्डोले खेलको पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । जारी लिग सिजनमा रोनाल्डोको २२ औं गोल थियो । उनले गत सिजन आफूले २१ गोल गरेको उपलब्धिलाई सुधारिसकेका छन् ।

रोनाल्डोले दुई सिजनमा कुल ४३ गोल गर्दै इटालीको शीर्ष श्रेणी लिगमा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बने । यसअघि इक्त कीर्तिमान रुइ कोस्टाको नाममा रहेको थियो । कोस्टाले सिरी ए मा ८ वर्ष बिताउँदै फिओरेन्टिना र एसी मिलानबाट खेलेका थिए ।

रोनाल्डो प्रिमियर लिगमा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । उनले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १ सय ९६ खेलमा ८४ गोल गरेका थिए ।

रोनाल्डो स्पेनिस ला लिगामा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । रियल म्याड्रिडका समेत सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले २ सय ९२ खेलमा ३ सय ११ गोल गरेका छन् । स्पेनिस लिगमा समग्रमा भने लिओनेल मेस्सीले मात्र रोनाल्डोभन्दा बढी गोल गरेका छन् ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्