रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो


 


स्पेन, असार ११ एजेन्सी

स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार रातिको खेलमा रियल २–० ले विजयी रहयो ।

खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र छातीले बल नियन्त्रण गर्दै गरेको प्रहार रेइनाले विफल पारेका थिए । लगत्तै बेलले लामो दुरीबाट गरेको प्रहार पनि उनले बचाए ।

खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिँदै विफल पारे ।

खेलको १९ औं मिनेटमा रियलले युवा विंगर भिनिसियस जुनियरको गोलमा अग्रता लियो । लुका मोड्रीचले अफसाइड ट्रयाप बिट गरेर दिएको पासलाई भिनिसियसले ६ यार्ड बक्स नजिकबाट गोलरक्षकको माथिबाट चिप गरेका थिए ।

२४ औं मिनेटमा भिनिसियस रियल म्याड्रिड र व्यक्तिगत दोस्रो गोल गर्नबाट बन्चित रहे । बेन्जेमाको थ्रु पासलाई भिनिसियसले गोलरक्षकको माथिबाट चिप प्रहार गरेपनि बल क्रसबारमा लाग्दै फर्किएको थियो । फर्केर आएको बललाई उनले डिफेन्डरसँग जुध्दै हेडरमार्फत गोल गर्न भने सकेनन् ।

२७ औं मिनेटमा इडेन हाजार्डको प्रहारले पोस्टको दिशा लिन सकेन । ४२ औं मिनेटमा मोड्रीचको फ्रिकिकलाई गोलरक्षक रेइनाले पन्च गरेर खतरा टारे । पहिलो हाफमा रियलले १(० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ५१ औं मिनेटमा भिनिसियसको थ्रु पासमा बेन्जेमाको प्रहारलाई गोलरक्षक रेइनाले दोस्रो प्रयासमा समाए । तर त्यसको केहि मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई बलियो स्थितिमा पुर्याए । रामोसले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार टप कर्नरमा गोल भएको थियो ।

६३ औं मिनेटमा टाकेफुसा कुबोले एकल प्रयासमा उत्कृष्ट मुभ बनाएपनि अन्त्यमा उनको प्रहारले पोस्टको बाहिरि भाग भेटेको थियो । ८२ औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ९० औं मिनेटमा रियलका ब्राहिम डियाजको प्रहारलाई रेइनाले डाइभ दिँदै बचाए ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको छ । हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै अड्केको छ ।

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्