अर्जेन्टिनामा उदाउँदैछन् अर्का मेस्सी


 


ब्युनर्स आयर्स, असार ११ एजेन्सी

छोटो कद, लामो कपाल, अर्जेन्टिनाको सेतो र निलो धर्के जर्सी, बायाँ खुट्टाले बलमा राम्रो नियन्त्रण अनि अगाडी आएका डिफेन्डरलाई एकपछि अर्को गर्दै छलाएर अगाडी बढ्ने शैली ।

युवा अवस्थामा लिओनेल मेस्सीको यस्तै शैलीले विपक्षी र समर्थकमाझ छाप बसाएको थियो । तर यसपटक उक्त खेलाडी लिओनेल मेस्सी थिएनन् ।

उनी लुका रोमेरो हुन् । १५ वर्षीय रोमेरो जसलाई कलिलो उमेरमा नै खेल्ने शैली मात्र नभएर शारीरिक बनोट हेर्दा पनि लिओनेल मेस्सीसँग दाँज्न थालिएको छ । अर्जेन्टिनाका उनले लामो समयसम्म राष्ट्रिय टोलीमा प्रभाव छाड्ने आशासहित उनलाई हेर्न थालेका छन् । उनको प्रदर्शन हेर्दा अहिले नै सिनियर टोलीको फुटबलमा उनले खेल्न सक्ने देखिन्छ ।

लामो समयदेखि अर्जेन्टिना र स्पेनमा चर्चामा रहेका रोमेरो अब विश्व फुटबलमै चासोको विषय बनेका छन् । कारण उनले रियल म्याड्रिडविरुद्ध ला लिगाको ३१ औं चरणको खेलमा डेब्यु गरे । दोस्रो हाफको अन्त्यतिर मालोर्काको ४१ नम्बर जर्सीमा मोरेनो मैदान प्रवेश गरे ।

यससँगै उनले सेल्टा भिगोका डिफेन्डर सान्सोनको नाममा रहेको ८० वर्ष पूरा किर्तिमान पनि कायम गरे । मोरेनोले रियल म्याड्रिडविरुद्ध खेल्दै १५ वर्ष २ सय १९ दिनको उमेरमा ला लिगामा डेब्यु गरे । सान्सोनले सन् १९३९(४० सिजनमा १५ वर्ष २ सय ५५ दिनको उमेरमा डेब्यु गरेका थिए ।

मालोर्काका सहायक प्रशिक्षक डानी पेन्दीनका अनुसार रोमेरोको क्षमता हेर्ने हो भने उनले यसअघि नै माथिल्लो श्रेणीमा खेल्न सक्थे । ‘ हामि रोमेरोलाई १२ वर्षको उमेरदेखि नजिकबाट नियालिरहेका छौं । हामीले उनको खेल हेर्दा यसअघि नै माथि ल्याउन सक्थ्यौं, तर हामी उनको उमेरलाई हेरेर ठिक समयको प्रतिक्षा गरेका हौँ ।’

‘हामीले उनले खेलेको देखेका छौं । उनले उमेर समूहमा पत्यार लाग्न नसक्ने प्रदर्शन गरेका छन् । प्राविधिक रुपमा उनले अप्रत्यासित रुपमा सुधार गरेपनि शारीरिक रुपमा भने त्यहि गतिमा बढ्न सकेनन् । त्यसैले पनि सिनियर टोलीमा खेल्दा उनलाई केहि कठिनाइ हुन सक्छ । पछिल्लो समय उनी शारीरिक रुपमा पनि बलिया भएका छन् ।’

रोमेरोका पिता डिएगो रोमेरो अर्जेन्टिनी नागरिक हुन् । उनको पिता डिएगो मेक्सिकोको तल्लो श्रेणी क्लब अलक्रेन्सका लागि खेल्दा लुकाको जन्म मेक्सिकोको दुराङ्गो सहरमा भएको थियो । उनको पिता स्पेनमा फुटबल खेल्न आएपछि लुका पनि २ वर्षको उमेरमा परिवारसँग स्पेन आए । डिएगोले स्पेनमै रहेर फुटबलसम्बन्धि अध्ययन अगाडी बढाउने निर्णय गरे र इबिजामा बसाईं सरे ।

लुका मात्र ७ वर्षको छंदा बार्सिलोनाले ट्रायलका लागि बोलाको थियो । उनको बलमाथिको नियन्त्रण देखेर क्लबका प्रशिक्षक निकै प्रभावित भएका थिए । तर उनको परिवार क्याटलुन्यामा बसाईं सर्न राजि भएनन् । फिफाको नियम अनुसार १० वर्षभन्दा कम उमेरमा खेलाडी एकेडेमीमा अनुबन्ध गर्न नपाइने हुनाले बार्सिलोना सफल भएन ।

सन् २०१५ मा लुकालाई मालोर्काले अनुबन्ध गर्यो । त्यसबेला दोस्रो श्रेणीमा रहेको मालोर्काले १० वर्षका लुकालाई एकेडेमीमा अनुबन्ध गरेको थियो । लुकाले मालोर्काकै एकेडेमीमा रहेर आफ्नो युवा उमेर समूहको करिअर अगाडी बढाए ।

त्यसको दुई वर्षपछि बार्सिलोनासँग जोडिएको अर्को घटना अगाडी आयो । इबिजाको बीचमा लुका र बार्सिलोनाका पूर्व खेलाडी ड्यानी आल्भेस फुटबल जगल गरिरहेको देखिएको थियो । आल्भेस आफैं लुका खेलिरहेको ठाउँमा आएर खेल्न चाहेका थिए । फोटो खिच्न जम्मा भएको भिडलाई उनले आफ्नो तस्बिर नभएर ‘भविष्यका लिओनेल मेस्सी’ का रुपमा चिनारी दिँदै लुकाको तस्बिर लिन भनेका थिए ।

लुकाको करिअर जुन दिशामा गएपनि उनलाई मेस्सीसँग तुलना गर्ने धेरै अगाडीदेखि सुरु भएको थियो । अहिले उनको सुधार हेर्दा उनले मेस्सीकै पथ पछ्याउने देखिन्छ । अझ उनलाई उनको जन्म भएको देशको नाम जोड्दै ‘मेक्सिकन मेस्सी’ पनि भन्ने गर्छन् । मेक्सिको र स्पेनबाट खेल्न पाउने भएपनि उनले अर्जेन्टिनाबाट नै खेल्ने प्रष्ट पारेका छन् ।

लुकाले उमेर समूहमा अर्जेन्टिनाको लागि खेलिसकेका पनि छन् । सन् २०१८ मा अर्जेन्टिनाको फुटबल संघले लुकाले आफू अर्जेन्टिनाबाट खेल्न चाहेको बताएको थियो । सन् २०१९ मा उनले यू(१५ राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै पराग्वेमा प्रतियोगिता पनि खेले ।

लुकाले उक्त प्रतियोगितामा २ गोल गरे । फाइनलमा भने लुका अभागी सावित भए । उनले फाइनलको टाइब्रेकरमा पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिना ब्राजिलसँग पराजित भएको थियो । तर उनको खेल्ने शैलीले भने निकै प्रशंसा बटुल्यो । धेरैले उनलाई मेस्सीसँग दाँजेका थिए ।

रोमेरोले आफ्नो करिअरमा सुखद सुरुवात गरेका छन् । तर अब यहाँबाट उनको यात्रा कता जाने भन्ने उनको निर्णयमा भर पर्छ । खेल्ने शैली र भविष्य हेर्दा उनी लामो समय मालोर्कामै बस्ने सम्भावना कम छ । उनी नोभेम्बर महिनामा १६ वर्ष पुगेपछि मालोर्काले उनलाई नयाँ सम्झौता प्रस्ताव गर्ने संभवाना छ ।

पछिल्लो समय उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड, बार्सिलोना, युभेन्टस र एटलेटिको म्याड्रिडले इच्छा देखाएका छन् । आउने दिनमा युरोपका अन्य शीर्ष टोलीले पनि उनीमाथि नजर राख्नेमा शंका छैन । हाल मेस्ससँग दाँजेर हेरिएका उनले आफ्नो प्रदर्शनमा ध्यान दिन जरुरि छ । उनले यसलाई दबाब नभएर अवसरका रुपमा लिएर अगाडी बढ्दा करिअरमा अझ धेरै सफलता मिल्ने देखिन्छ ।

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्