ला लिगा फुटबल खेलमा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरी



काठमाडौं, असार १४
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरीमा सकिएकाे छ । २-२ को बराबरीमा खेल राेकिएकाे हाे।

खेलको २० औं मिनेटमा बार्सिलोनाले स्वारेजको गोलमा सुरुवाती अग्रता लिएको थियो । कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा स्वारेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोलीले स्कोर बराबर गर्‍यो । ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई खेलमा फर्काएका थिए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरेका थिए ।

६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुन: अग्रता दिलाए । मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई स्वारेजले डिफेन्सको दबाब चिर्दै उत्कृष्ट टर्नमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

नियमित समयको तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३१ खेलमा ६८ अंक छ ।

दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोनाले सेल्टालाई उसैको घरेलु मैदानमा हराउँने मौका गुमायो।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News