रियललाई स्पष्ट अग्रता


 


काठमाडौं, असार १५ एजेन्सी

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती रियल म्याड्रिडले एस्पान्योलमाथि १(० को जित दर्ता गरेको छ ।

क्यासेमिरोको निर्णायक गोलमा जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिँदै पकड जमाएको छ ।

खेलको पाँचौ मिनेटमा एस्पान्योलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा अगाडी बढेको घरेलु टोलीका वु लेइको क्रसमा सर्जी डार्डरको प्रहारलाई राफाएल भारानले उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित नै राखे ।

छैटौं मिनेटमा क्यासेमिरोको लामो दुरीको प्रयासलाई एस्पान्योलका गोलरक्षक डिएगो लोपेजले विफल पारे । लोपेज पोजिसनमा नभएको मौकामा क्यासेमिरोले आफ्नो हाफबाट गरेको लामो प्रहार लोपेजले एक हातले डाइभ दिँदै दोस्रो प्रयासमा मात्र बचाउन सकेका थिए ।

नवौं मिनेटमा क्यासेमिरोले कर्नरबाट आएको रिबाउन्डमा गरेको प्रहार गोललाइन नजिक रहेका कप्तान सर्जियो रामोसको टाउकोमा लाग्दै बाहिरियो । लगत्तै मार्सेलोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो ।

२५ औं मिनेटमा वु लेइको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २७ औं मिनेटमा लेइले काउन्टरमा तीव्र गतिमा बल अगाडी बढाएपनि रामोससँग जुधेपछि आक्रमण पेनाल्टी क्षेत्र बाहिरनै नै रोकिन पुग्यो । ३१ औं मिनेटमा टोनी क्रुसको फ्रिकिकमा रामोसको हेडरले पोस्टको दिशा लिन सकेन ।

४४ औं मिनेटमा रियल म्याड्रिडले अग्रता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । एकै मुभमा गोलरक्षक डिएगो लोपेजले तीन बचाउ गरेपछि रियल निराश बन्नुपरेको थियो । उनले करीम बेन्जेमा, क्यासेमिरो र इडेन हाजार्डको प्रहार विफल पारेका थिए ।

रियलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिन सफल रहयो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र ब्याकहिलमा दिएको पासलाई क्यासेमिरोले ६ यार्ड बक्सको भित्रबाट गोलमा परिणत गरे । त्यहि गोल रियललाई पहिलो हाफमा १(० को अग्रता दिलाउन पर्याप्त रहयो ।

दोस्रो हाफको ४९ औं मिनेटमा बेन्जेमाको प्रहारलाई लोपेजले दोस्रो प्रयासमा बचाए । ६६ औं मिनेटमा एस्पान्योलका राउल डे टोमसको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाए ।

८८ औं मिनेटमा काब्रेराले लाम पासमा हेडर प्रहार गर्न नसक्दा एस्पान्योल खेलमा फर्कन सकेन । इन्ज्युरी समयमा ड्यानी कार्भाजालको क्रसलाई गोलरक्षक डेविड लोपेजले रोक्दै अग्रता बढाउने अवसर दिएनन् ।

यस जितसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ । रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ । एस्पान्योल भने ३२ खेलमा २४ अंकसहित पुछारमा यथावत छ ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्