अब क्रिकेटमा देखिने पाँच परिवर्तन यस्ता छन्


 


काठमाडौं, असार १५ एजेन्सी

क्रिकेट इतिहासमा यति लामो समयसम्म शून्य गतिविधि यसअघि कहिल्यै भएको थिएन । मार्च १३ देखियता कोरोना भाइरसको कारण क्रिकेटका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता, सिरिज र खेल शून्य नै छन् ।

अन्तिम पटक अष्ट्रेलिया र न्युजिल्यान्डबीच तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेल १३ मार्चमा खाली रंगशालामा भएको थियो । तर बाँकी दुई खेल भने स्थगित हुन पुगे । झन्डै चार महिनापछि जुलाई ८ मा इंग्ल्यान्ड र वेस्ट इन्डिजको पहिलो टेष्टसँगै अन्तर्राष्ट्रिय क्रिकेट फर्किंने छ । जसको लागि एक महिना अघिनै वेस्ट इन्डिजको टोली इंग्ल्यान्ड आइपुगेको छ ।

१४ दिनको क्वारेन्टाइन बसाईपछि अभ्यासमा ब्यस्त छ । जुलाई ८ मा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच साउथह्याप्टमा मैदान प्रवेशसँगै विश्वमा क्रिकेटको माहोल र उत्साह पुनः फर्किंने छ । तर कोरोनाले क्रिकेटमा धेरै कुरामा परिवर्तन गराउने छ । खेलाडीको प्रर्दशन स्तर घट्ने आशंका गरिएको छ । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय फर्किंदा क्रिकेटमा देखिने पाँच परिवर्तनहरु ।

हात मिलाउन बन्देज

कोरोना महामारीको कारण खेलाडीहरुले केहि समय अव हात नमिलाई खेल खेल्ने छन् । भद्र भलाद्मी खेलको रुपमा चिनिने क्रिकेटमा अव टसको बीच दुई कप्तान, राष्ट्रिय गानको समय र खेलको नतिजापछि खेलाडीहरुले हात नमिलाई पेभिलिएन फर्किने छन् । खेलाडीको सेलिब्रेसनमा पनि कमि आउने छ । केहि यस्ता विकेट हुँन्छन् जो आउट हुँदा पुरै खेलाडी खुसीले अंगलो मार्ने गर्दछन् ।

अंगालोमार्दा पनि कोरोना सर्ने सम्भावना हुन्छ । कोरोनाअघि दक्षिण अफ्रिका स्पिनर इमरान ताहिरले विकेटपछि मैदान घुम्दैं सेलिबे्रशन गर्दा उनलाई रोक्न र अंगालोमार्न अन्य खेलाडी जाने गर्दथिए । अवस्था यस्तो आउँदै छ, ताहिर अव एक्लै मैदान घुम्नेछन् उनलाई रोक्न कोहि जाने छैनन् ।

एक महिना अघि विदेश भ्रमण

कोरोना महामरीको कारण भ्रमणकारी टोली १४ दिन आइसोलेशनमा बस्नैपर्ने हुन्छ । यस अघि एक हप्ताअघि विदेश भ्रमणमा निस्कने टोलीले कम्तिमा २० दिन अगाडि निस्कनुनै पर्ने हुन्छ । अझ केहि अभ्यास खेल खेल्ने टोली एक महिना पहिलेनै अभ्यास भ्रमणमा निस्कने छन् । वेस्ट इन्डिज टोली एक महिना अघिनै इंग्ल्यान्ड आएको थियो ।

त्यस्तै पाकिस्तानको टोली पनि अगष्टमा हुने टेष्ट र टि२० आई सिरिजको लागि इंग्ल्यान्ड एक महिना भन्दा अघिनै आइतबार त्यसतर्फ जादैं छ । जसले कमजोर आर्थिक भएका क्रिकेट बोर्ड संकटमा पर्ने देखिन्छ ।

थुक प्रयोगमा प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले बलरलाई थुक प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसले बलरलाई केहि समय धेरै कठिन र अलमलमा पर्ने छन् । अर्कोतर्फ तीब्र गतिका बलरलाई बल स्विङ नहुने हो की भन्ने चिन्ता छ । बाल्यकाल देखिनै थुक प्रयोग गर्दै आएका बलर यसमा झुक्किने छन् ।

नेपाली समाजमा एउटा उखान छ, ‘लाएको बानी घोएर नजानी’ त्यसैले पहिलो पटक थुक प्रयोग गर्दा बलरलाई कारबाही नगरेर अम्पायरले चेतावनी दिने छ । दुइ चेतावनीपछि पुनः दोहाराएमा भने ५ रन पेनाल्टी लाग्ने आइसिसीले जनाएको छ । यो नियम कोरोना माहामारी अन्त्य नहुँदा सम्म कायम हुने छ ।

खाली रंगशालामा खेल

समर्थकलाई १२ औं खेलाडीको रुपमा लिइन्छ । तर केहि समय अन्तर्राष्ट्रिय क्रिकेट समर्थक विनाको रंगशालामा खेल्नुपर्ने बाध्यता हुने छ । ब्याट्सम्यानले प्रहार गरेको छक्काको बल लिन खेलाडी आफैं प्याराफिटमा खोज्न जानुपर्ने हुन्छ । खेलाडीको आवज रंगशालामा ठोकिने छ ।

खेलाडीलाई घरेलु मैदानमा अवे स्टेडियम जस्तै लाग्ने छ । हजारौं समर्थकको समर्थन विना खेलाडीमा उर्जामा कमी आउन सक्छ । समर्थक वा शुभचिन्तकले केहि समय उक्त खेल टिभी वा अन्य विद्युतीय र इन्टरनेटका माध्यमबाट हेर्नुपर्ने बाध्यता हुने छ ।

समर्थकमा सामाजिक दुरी कायम

लामो समय सम्म समर्थक विनाको रंगशालमा क्रिकेट सुचारु गर्दा लोकप्रियतानै गुम्ने डर हुन्छ । हालसम्म कोरोना महामरी अन्त्यको लागि कुनै खोप र औषधी बनेको छैन । तर सुरक्षित रहने थुप्रै उपाय छन् । त्यस मध्य एक प्रभावकारी तरिका सामाजिक दुरी कायम गर्नु हो ।

दुई मिटर टाढा रहँदा कोरोना नसर्ने वैज्ञानीकको अनुमान छ । कोरोना महामारी लामो समय सम्म कायम रहे समर्थकमा सामाजिक दुरी कायम गरि रंगशालामा खेल खेलाउने देखिन्छ । त्यसको लागि खेल सुरुहुनु अघि सबै समर्थकमा सेनिटाइजर प्रयोग र स्वास्थ्य परिक्षण अनिवार्य हुन सक्छ । सामाजिक दुरी कायम गर्दा ५० हजारको दर्शक क्षमताको रंगशालामा १५—२० हजार मात्र अट्न सक्छन् ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्