ह्वात्तै घट्यो कर्जा लगानी


 


काठमाडौं, असार १६

वाणिज्य बैंकहरुको कर्जा लगानी घटेको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै केहि सहज बनाएपछिमात्रै पनि बैंकहरुको लगानी ७ अर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ ।

लकडाउनको मोडालिटीको परिवर्तन हुनु अगाडि ३० जेठसम्म बैंकहरुको २६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेको थियो । १ असारदेखि लकडाउन केहि सहज भएको थियो ।

एक हप्तामा कर्जा ५ अर्ब रुपैयाँले घटेर ५ असारमा २८ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको वाणिज्य बैंकहरुका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

संघका अनुसार कर्जा लगानी घट्ने क्रम अझै जारी छ । ३० जेठमा २८ खर्ब १६ अर्ब रुपैयाँ रहेको कर्जा ५ असारमा ५ खर्बले घटेर २८ खर्ब ११ अर्बमा झर्‍यो । त्यसको एक हप्तामा थप २ अर्बले घटेर २८ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको संघले जनाएको छ ।

सोही अवधिमा निक्षेप रकम भने २६ अर्ब रुपैयाँले बढेको संघले जनाएको छ । संघका अनुसार ३० जेठसम्म ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रकम १२ जेठसम्म आइपुग्दा २६ अर्बले बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

११ चैतदेखि सरकारले देशलाई लकडाउन गर्‍यो । यस अवधिमा पनि कर्जा बढेकै थिए । फागुन अन्तिम साता २८ खर्ब ३ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा चैत मसान्तसम्ममा बढेर २८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको थियो ।

यद्यपि, यतिबेला भने कर्जा घटेको छ । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा नयाँ लगानी नभएको र पुराना केहि ऋणीहरुले ऋण तिरेका कारण कर्जा घटेको बताउँछन् ।

पछिल्लो समय बैंकमा ऋण लिन आउनेको संख्या एकदमै कम भएको अन्य बैंकरहरुले पनि बताउँदै आएका छन् । कोरोना त्रास जारी रहेकाले नयाँ बिजनेस हाउसहरु लगानी बढाउन डराएका कारण पनि बैंकहरुको कर्जा लिने क्रम घटेको उनीहरु बताउँछन् ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्