टेष्ट खेल : ओलीको ब्याटिङ उत्कृष्ट


 



एजेन्सी
ओली पोपको उत्कृष्ट ब्याटिङसँगै वेस्टइन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्ड बलियो योगफलतर्फ अघि बढेको छ ।

ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८५.४ ओभरमा ४ विकेटको क्षतिमा २ सय ५८ रन जोडेको छ ।

युवा ब्याट्सम्यान ओली पोप आफ्नो टेष्ट करिअरको दोस्रो शतक नजिक छन् । पोप १ सय ४२ बलमा ११ चौका सहित ९१ रनमा अविजित छन् । विकेटकिपर जस बटलरले १ सय २० बलमा २ छक्का र ५ चौका सहित ५६ रनमा अविजित छन् ।

पाँचौ विकेटका लागि पोप र बटलरले २ सय २८ बलमा १ सय ३६ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफलको बाटो देखाएका छन् । ओपनर रोरी बर्न्स १ सय ४७ बलमा ४ चौका सहित ५७ रनमा क्याच आउट भए । रोरीलाई स्पिनर रोस्टन चेशले रेहकम कर्नवालबाट क्याच आउट गराए ।

अर्का ओपनर डोम सिब्लेलाई केमार रोचले एलबिडब्लू शून्यमा आउट गरे । कप्तान जो रुट १७ रनमा रन आउट भए । रोचले बेन स्टोक्सलाई २० रनमा बोल्ड आउट गरे । तीन टेष्ट सिरिज १–१ को बराबरीमा छ । दुबै टोलीलाई अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।

प्रकाशित मिति: १० श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्