Deshko News
१४ मंसिर २०८०, बिहिबार

पाँच सय विकेट क्लबमा स्टुअर्ट ब्रोड


 


लण्डन, साउन १४ एजेन्सी

कोरोना महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय टेष्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्डले तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई २ सय ६९ रनको फराकिलो अन्तरले हराउँदै सिरिज २–१ ले जितेको छ ।

इंग्ल्यान्ड पहिलो खेलमा पराजित भएपनि उत्कृष्ट पूनरागमन सहित टेष्ट सिरिज जितेको हो । तेस्रो टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले चौथो दिन वर्षाको कारण खेल सुचारु हुन सकेन । पाँचौ दिन इंग्ल्यान्डले उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई ३७.१ ओभरमा १ सय २९ रनमा अल आउट गर्यो ।

ओपनर जोन क्याम्पबेललाई स्टुअर्ट ब्रोडले तेस्रो दिनमानै शून्यमा जो रुटबाट क्याच आउट गराएका थिए । त्यस्तै ब्रोडले बटलरबाट केमार रोचलाई ४ रनमा क्याच आउट गराएका थिए । ब्रोडले ओपनर क्रेग ब्रेथवेटलाई १९ रनमा एलबिडब्लू आउट गर्दै आफ्नो टेष्ट करिअरको पाँच सय विकेट पूरा गरे । ब्रोड टेष्टमा पाँच सय विकेट पूरा गर्ने विश्वका सातौं बलर हुन् । तीव्र गतिका बलरमध्य ब्रोड यस उपलब्धि हासिल गर्ने चौथो खेलाडी हुन् । इंग्ल्यान्डका टेष्टमा पाँच सय विकेट लिने दोस्रो बलर हुन् ।

वेस्टइन्डिजका शाई होपलाई क्रिस वोक्सले ब्रोडबाट ३१ रनमा क्याच आउट गराए । वोक्सलेनै शम्राह बूक्सलाई २२ रनमा बटलरबाट क्याच आउट गराउँदै पेभिलिएन फर्काए । रोस्टन चेश ७ रनमा रन आउट हुन पुगे । जेसन होल्डर १२ रनमा आउट भए । जर्मेन ब्ल्याककवुड २३ रनमा क्याच आउट भए । इंग्ल्यान्डका क्रिस वोक्सले ११ ओभरमा ५० रन खर्चेर ५ विकेट लिए । स्टुअर्ट ब्रोडले ८.१ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि ५८ ओभरमा २ विकेट गुमाउँदै २ सय २६ रन बनाउँदै दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । ओपनर रोरी बर्न्सले १ सय ६३ बलमा १० चौका सहित सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै अर्का ओपनर डोम सिब्लेले १ सय ३२ बलमा ७ चौका सहित ५६ रन जोडे । कप्तान जो रुट ५६ बलमा ८ चौका र १ छक्का सहित ६८ रनमा अविजित रहे । वेस्ट इन्डिजका रोस्टन चेश र जेसन होल्डरले १(१ विकेट लिए ।

त्यसअघि वेस्ट इन्डिज पहिलो इनिङमा ६५ ओभरमा वेस्टइन्डिजले १ सय ९७ रनमा अल आउट भएको थियो । ओपनर क्रेग ब्रेथवेटलाई स्टुअर्ट ब्रोडले कप्तान जो रुटबाट १ रनमा क्याच आउट गराए । जोफ्रा आर्चरले अर्का ओपनर जोन क्याम्पबेललाई रोरी बर्न्सबाट ३२ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । उनले ५० बलमा ३ चौका प्रहार गरे ।

जेम्श एन्डरसनले शाई होपलाई १७ र शम्राह बूक्सलाई ४ रनमा जस बटलरबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि वेस्टइन्डिजले रन जोड्न संघर्ष गरेको थियो । रोस्टन चेश ९ रनमा आउट भए । कप्तान जेसन होल्डरलाई ब्रोडले ४६ रनमा एलविडब्लू आउट गरे । योसँगै होल्डरले टेष्टमा आफ्नो दुइ हजार रन पूरा गरेका छन् । उनी वेस्टइन्डिजबाट एक सय विकेट लिने र दुइ हजार रन बनाउँने तेस्रो खेलाडी बनेका छन् ।

शेन डोरीच ३७ र रेहकम कर्नवाल १० रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले १४ ओभरमा ४ मेडन सहित ३१ रन खर्चेर ६ विकेट लिए । जेम्श एन्डरसनले २ विकेट लिए । क्रिस वोक्स र आर्चरले १–१ विकेट लिए ।

त्यसअघि ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १११।५ ओभरमा ३ सय ६९ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान ओली पोपले सर्वाधिक ९१ रनको योगदान दिए । पोप १ सय ५० बलमा ११ चौका प्रहार गरे । शेनन ग्याब्रियलले बोल्ड आउट गरेपछि ओली शतक बनाउन ९ रनले चुकेका थिए । विकेटकिपर जस बटलरले १ सय ४२ बलमा २ छक्का र ७ चौका सहित ६७ रनमामा क्याच आउट भए ।

पाँचौ विकेटका लागि पोप र बटलरले १ सय ४० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। ओपनर रोरी बर्न्स १ सय ४७ बलमा ४ चौका सहित ५७ रनमा क्याच आउट भए । अर्का ओपनर डोम सिब्लेलाई केमार रोचले एलबिडब्लू शून्यमा आउट गरे । कप्तान जो रुट १७ रनमा रन आउट भए । रोचले बेन स्टोक्सलाई २० रनमा बोल्ड आउट गरे ।

तल्लोक्रममा स्टुअर्ट ब्रोडले ४५ बलमा ९ चौका र १ छक्का सहित ६२ रन जोड्दै इंग्ल्यान्डलाई बलियो योगफलमा पुर्याए । ब्रोडले ३३ बलमा अर्ध शतक पूरा गरेका थिए । डोम बेस १८ रनमा अविजित रहे । वेस्टइन्डिजका तीब्र गतिका बलर केमार रोचले सर्वाधिक ४ विकेट लिए । यससँगै रोचले टेष्ट करिअरमा २ सय विकेट पूरा गरे । त्यस्तै शेनन ग्याब्रियलले र रोस्टन चेशले २–२ विकेट लिए । कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो ।

पहिलो टेष्टमा वेस्टइन्डिज ४ विकेटले विजयी हुँदा दोेस्रो टेष्टमा १ सय १३ रनले पराजित भएको थियो । इंग्ल्यान्डले अब पाकिस्तानसँग टेस्ट सिरिज खेल्नेछ । वेस्टइन्डिजका खेलाडी भने क्यारेबियन प्रिमियर लिगमा व्यस्त हुनेछन् ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्