नेपाली क्रिकेट टोलीका खेलदाडीको कोरोना परीक्षण गरिने


 


काठमाडौं, साउन १५

नेपाल क्रिकेट संघ क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना संक्रमण परिक्षणका लागि पिसिआर परिक्षण गर्ने भएको छ ।

यसबारे छलफल गर्न क्यानका पदाधिकारी बुधबार स्वास्थ्य मन्त्रालय पुगेका थिए । स्रोतका अनुसार क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक, राष्ट्रिय खेलकुद परिषद् राखेपबाट चुनिएका केन्द्रीय सदस्य छुम्बी लामा लगायत स्वास्थ्य मन्त्रालय पुगेका थिए । क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले साउन २७ वा २८ मा सबै खेलाडीको पिसिआर परिक्षण गर्ने स्रोतले जनाएको छ ।

त्यस्तै टीयु मैदानमा कार्यरत सबै कर्मचारीको ग्राउन्ड स्टाफ पनि पिसिआर परिक्षण हुने छ । क्यानले ६ महिनापछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने तयारी गरेको छ । भदौ पहिलो सातादेखि खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी रहेको र त्यसअघि पिसिआर परिक्षण गर्न लागेको बुझिएको छ ।

आईसीसी विश्वकप लिग२ अन्तर्गत त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने सम्भावना रहेकाले पनि प्रशिक्षणका लागि तयारी गर्न लागिएको हो । बुधबार नै राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले नामिबियामा हुने सिरिज सेप्टेम्बरमा गर्ने प्रस्ताव आएकाले क्यानले त्यसबारे अध्ययन गरिरहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्