मलेसियामा नेपालीमाथि आक्रमण गर्ने नेपाली सुपरभाइजरविरूद्द उजुरी गरिँदै


 


क्वालालम्पुर, साउन १८
मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि कुटपिट गरिएकाे छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा देखिए अनुसार सन्तोष सापकोटा नामका कामदारलाई सुपरभाइजरले लठ्ठीले प्रहार गरिरहेका छन् । तर सन्तोषले प्रतिकार गर्न सकिरहेका छैनन् । ४४ सेकेण्डको भिडियोमा कम्पनीमा सिनियरजस्तो देखिने व्यक्तिले नेपाली सुरक्षा गार्डलाई निर्घात रुपमा कुटपिट गरिरहेका छन् ।

अपार्टमेण्टको पार्किङ्गमा कुटिरहेका नेपाली श्रमिकलाई मले भाषामा गाली पनि गरिरहेका छन् । तर, नेपाली श्रमिकले भने चुपचाप पिटाई खाईरहेका छन् । भिडियो खिचिरहेका अर्को व्यक्तिले भने धेरै भयो छोडी देउ भनिरहेका छन् । हिन्दी लवजमा नेपाली शब्द प्रयोग गरी उनले अब छोडी देउ भनिरहेका छन् ।

कामदारमाथि कुटकुट गर्ने व्यक्ति नेपाली नै भएको फेला परेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाली सुरक्षा गार्डमाथि कम्पनीका नेपाली सुपरभाईजले नै निर्घात रुपमा कुटपिट गरेका हुन् । पीडित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूताबासमा आश्रय लिईरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।

नेपाली सुरक्षा गार्डमाथि भएको कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केश दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक विदा हुने भएकाले दूतावासले सोमबार मात्रै केश दर्ता गर्ने जनाएको छ ।

दूतावासले पीडकलाई सम्पर्कगरी सोमबार प्रहरीमा बोलाएको राजदूत पाण्डेले बताए । याे भिडिओ गत जुलाई ७ मा सार्वजनिक भएको बताइएको छ । उनलाइ आफ्नै सुपरभाइजरले निर्घात कुटिरहेको दृश्य भाइरल बनेसँगै यसबारे त्यहाँ रहेकाे दूतावासले चासाे देखाएकाे हाे।

प्रकाशित मिति: १८ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्