महिन्दा राजापाक्ष श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त


 


कोलम्बो, साउन २५
श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिएका थिए। सपथ कार्यक्रममा कुटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरुको उपस्थिति थियो ।

राजापाक्षले श्रीलंकामा यो सहित चौथो पटक प्रधानमन्त्री पदको सपथ लिएका हुन् । राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उहाँको नयाँ मन्त्रिपरिषद यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ ।

श्रीलंकाली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलंकाको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रुपमा सम्पन्न भएको थियो । कोरोनाभाइरसको महामारीका बाबजूद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो ।

श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी अगस्ट २० मा शुरु हुनेछ । श्रीलंकाली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुगेका हुन् ।
––

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्