इरानको रोक्का सम्पत्ति खाडी सहयोगीको क्षतिपूर्तिमा प्रयोग गर्न अमेरिकाको दबाब बढ्न सक्ने
वाशिङ्गटन, २४ जेठ । इरानको रोक्का गरिएको सम्पत्ति भविष्यमा खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रमाथि हुने सम्भावित आक्रमणबाट भएको क्षतिपूर्तिका लागि प्रयोग गर्न अमेरिकाले दबाब बढाउन सक्ने विश्लेषकहरूले बताएका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको धारणा नजिकबाट बुझेका एक स्रोतका अनुसार वाशिङ्गटनले इरानको रोक्का सम्पत्तिलाई खाडी सहयोगी राष्ट्रहरूको पुनर्निर्माण तथा मर्मत कार्यमा प्रयोग गर्न उपलब्ध सबै उपाय अपनाउने तयारी गरेको छ।
यसैबीच, इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्च २ मा इजरायलमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढ्दै गएको छ। उक्त घटनापछि मध्यपूर्वी द्वन्द्वको प्रभाव झेलिरहेको लेबनानले शुक्रबार इरानलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।
पाकिस्तान अमेरिका र इरानबीचको तनाव कम गर्न सम्भावित मध्यस्थकर्ताका रूपमा सक्रिय देखिएका बेला लेबनानका सेना प्रमुख रोडोल्फ हायकल शनिबार पाकिस्तान भ्रमणमा पुग्नुभएको छ। भ्रमणका क्रममा उहाँले लेबनानको सुरक्षा अवस्था तथा हेजबुल्लाहसँग सम्बन्धित विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
क्षेत्रीय शक्ति सन्तुलन, इरानको प्रभाव र सुरक्षा चुनौतीका विषयमा मध्यपूर्वमा कूटनीतिक गतिविधि तीव्र बन्दै गएको विश्लेषकहरूको भनाइ छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार
















