अमेरिकी आग्रह अस्वीकार गर्दै उत्तर कोरियाले भन्यो : आणविक कार्यक्रम अझ बलियो बनाउँछौँ



सियोल, २४ जेठ । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकाको निःशस्त्रीकरणसम्बन्धी आग्रह अस्वीकार गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा वरिष्ठ नेतृ किम यो जोङले अमेरिकाको आणविक निःशस्त्रीकरणको मागलाई पुरानो र अव्यावहारिक सोचको संज्ञा दिँदै उत्तर कोरिया आफ्नो परमाणु क्षमता विस्तार गर्ने नीतिबाट पछि नहट्ने बताउनुभएको छ।

उहाँले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता प्राप्त भइसकेको दाबी गर्दै त्यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानुनी वा राजनीतिक महत्व नरहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति Donald Trump र चिनियाँ राष्ट्रपति Xi Jinpingबीच उत्तर कोरियाको आणविक निःशस्त्रीकरणबारे सहमति भएको अमेरिकी दाबीलाई पनि उहाँले खण्डन गर्नुभयो।

किम यो जोङले अमेरिका अझै पुरानै रणनीतिमा अल्झिएको टिप्पणी गर्दै उत्तर कोरियाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि परमाणु शक्ति विस्तार गर्ने क्रम जारी राख्ने स्पष्ट पार्नुभयो।

सन् २०१९ मा राष्ट्रपति ट्रम्प र नेता किम जोङ उनबीच भएको वार्ता निष्कर्षविहीन भएपछि उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई थप तीव्रता दिएको छ। हालै नेता किमले आणविक सामग्री उत्पादन केन्द्रको निरीक्षण गर्दै देशको आणविक शक्ति उल्लेख्य रूपमा विस्तार गरिने बताउनुभएको थियो।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किमले हालै एक हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादन क्षमता साढे दुई गुणाले वृद्धि गर्न निर्देशन दिनुभएको छ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित उत्तर कोरिया भ्रमणको चर्चा भइरहेका बेला आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार चीनले उत्तर कोरियासँग आर्थिक तथा रणनीतिक सम्बन्ध सुदृढ गर्न खोजिरहेको भए पनि आणविक निःशस्त्रीकरणको विषयलाई प्राथमिकतामा नराख्न सक्छ।

अर्कोतर्फ उत्तर कोरिया र रुसबीचको सम्बन्ध पछिल्लो समय थप नजिकिएको देखिएको छ। अमेरिका र दक्षिण कोरियाले युक्रेन युद्धमा सहयोग गर्न उत्तर कोरियाले रुसलाई हतियार तथा सैनिक उपलब्ध गराएको आरोप लगाउँदै आएका छन्। त्यसबापत उत्तर कोरियाले रुसबाट आर्थिक तथा सैन्य सहयोग प्राप्त गरिरहेको अनुमान गरिएको छ।

किम यो जोङले अमेरिका र दक्षिण कोरियामाथि सैन्य दबाब बढाएर उत्तर कोरियालाई धम्क्याउने प्रयास गरेको आरोप लगाउँदै त्यही कारण आफ्नो देशले परमाणु क्षमतालाई थप सुदृढ बनाइरहेको बताउनुभयो।

प्योङयाङबारे जानकार स्रोतहरूका अनुसार उत्तर कोरिया आफूलाई स्थायी परमाणु शक्तिका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गराउने र विश्व समुदायबाट राजनीतिक मान्यता प्राप्त गर्ने रणनीतिमा केन्द्रित छ। यद्यपि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले भने उत्तर कोरियामाथिको कूटनीतिक तथा आर्थिक दबाबलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्