प्रज्ञा भवनमा विदेशी स्रष्टाको भव्य स्वागत


 


rasiyan-srastaकाठमाडौँ, असाेज १५

प्राज्ञिक आदान–प्रदान अभियानअन्र्तगत नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका स्रष्टाहरुको सम्मानमा नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत कार्यक्रम गरेको छ । जरा फाउन्डेशनको निमन्त्रणामा आएका थाइल्यान्ड, चीन, भारत, जर्मन, भुटान, बंगलादेश, म्यान्मार लगायतका दश देशका स्रष्टाहरुलाई प्रज्ञा भवनमा स्वागत गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पाहुना स्रष्टाहरुलाई पूर्वेली ढाकाको गम्छा ओढाएर सम्मान गरेका थिए । उनले आआफ्नो मुलुकमा ख्याती प्राप्त स्रष्टाहरुलाई नेपालमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । वाङ्मयिक विस्तार र समृद्धिका लागि यस्ता सद्भाव भ्रमणको विशेष भूमिका रहने उनले उल्लेख गरे ।

कार्यक्रममा बंगलादेश सांस्कृतिक संस्थाकी अध्यक्ष सेली सेन गुप्ता र थाई राइटर्स एसोसिएसनका पूर्वअध्यक्ष सेन सङसोम्फनले नेपालको प्रशंसा गरेका थिए । उक्त अवसरमा भारतका कवि भिखी प्रसाद ‘वीरेन्द्र’लगायतले कविता सुनाएका थिए भने नेपालतर्फबाट प्राज्ञ तथा कवि अमर गिरी, मातृका पोखरेल, नर्मदेशवरी सत्याल र विवश पोखरेलले कविता वाचन गरेका थिए ।

मुलुकलाई विश्वसँग जोड्ने उद्देश्यले प्राज्ञिक आदान–प्रदान कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले बताए ।
रुसबाट पनि
यसै गरी रुसबाट आएका स्रष्टाहरुको स्वागतमा प्रज्ञा–प्रतिष्ठानले एक कार्यक्रमको आयोजना ग¥यो । नेपाल–रुस दौत्य सम्बन्ध स्थापनाको ६० वर्षगाँठका अवसरमा नेपालस्थित रसियन कल्चर सेन्टरको प्रवन्धमा नेपाल भ्रमणका आएका रुसी साहित्यकारलाई कुलपति उप्रेतीले मौलिक नेपाली गम्छा ओढाएर स्वागत गरेका थिए ।

भिक्टर जुइभको नेतृत्वमा नेपाल भ्रमणका आएको रुसी स्रष्टा टोलीमा मूर्तिकार ग्रिगोरी पाटोस्की, लेखकहरु एलेना सोलोभ्या, मरिना जामोनिटा, निना पोपोभाल लगायत छन् । साहित्यकार जंगब चौहानको संयोजनमा आयोजित उक्त कार्यक्रमा नेपाल–रुस सम्बन्धका साथै दुई देशका साहित्यिक एवम् सांस्कृतिक पक्षका बारेमा विमर्श समेत गरिएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्