बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन: ट्रम्पका नीतिहरु असफल


 


एजेन्सी, साउन २९
अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गरेका छन्।

विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तिब्र मतभेद र विमती हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।

बुधवार डेमोक्र्याटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोनाभाइरसका कारण तडकभडक हुन पाएन । अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोनाभाइरसका कारण अति सानो संख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो ।

उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो । कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको संख्याभन्दा संवाददाताहरुको संख्या बढी थियो ।

कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए । ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा पनि गरेका थिए।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्