पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा


 


पेरिस, साउन २९

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले खेलको अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजी २ं–१ ले विजयी रहयो । मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस र चुपो मोटीङले गोल गरेपछि पीएसजी विजयी रहयी ।

खेलको तेस्रो मिनेटमा नै नेयमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेयमारले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टभन्दा निकै टाढाबाट बाहिरिएको थियो । ११ औं मिनेटमा कप्तान पापु गोमेजको क्रसमा हान्स हाटेबोरको हेडरलाई गोलरक्षक केलर नाभासले डाइभ दिँदै एक हातले बचाए ।

खेलको १९ औं मिनेटमा पीएसजीले काउन्टर अट्याकमा अगाडि बढाएको मुभमा नेयमारको पास माउरो इकार्डीले बुझ्न नसक्दा फ्रान्सेली टोलीले अग्रता लिने अर्को अवसर गुमायो । नेयमारले तीव्र गतिमा बल अगाडि बढाउने क्रममा डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई इकार्डीले पेनाल्टी क्षेत्रभित्रै रहेपनि बलसम्म पुग्ने प्रयास गरेनन् ।

खेलको २६ औं मिनेटमा मारियो पासलीचको गोलमा एटलान्टाले अग्रता लियो । पीएसजीको डिफेन्सले सामान्य क्लियरेन्स गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका पासालिचले गोलरक्षक नाभासलाई उक्त प्रहार बचाउने कुनै अवसर दिएनन् । लगत्तै अर्कोतर्फ नेयमारले उत्कृष्ट मुभ बनाउँदै तीन डिफेन्डरलाई छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।

३५ औं मिनेटमा नेयमारले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक स्पोर्टिएल्लोले दोस्रो प्रयासमा बचाए । त्यसको दुई मिनेटपछि नै नेयमारको फ्रिकिकमा रिबाउन्ड आएको बललाई सराबियाले क्रस गरेपनि गोलरक्षक स्पोर्टिएल्लो बाधक बने । ४१ औं मिनेटमा सराबियाकै क्रसमा इकार्डी बलसम्म पुग्न सकेनन् । त्यसको एक मिनेट नबित्दै हाटेबोरले दिएको ब्याकपास नेयमारले पेनाल्टी क्षेत्रभित्र भेटेपनि गोलरक्षक मात्र भएको अवस्थामा उनको प्रहार आकासियो ।

पहिलो हाफमा १(० ले पछि परेको पीएसजीले दोस्रो हाफको सुरुवातदेखि नै आफ्नो लय समात्यो । लगातार बलमा पकड बनाएपनि दोस्रो हाफमा गोल गर्ने पहिलो अवसर भने एटलान्टाले नै पाएको थियो । ५८ औं मिनेटमा फ्रिकिकमा रिबाउन्ड आएको बललाई जिम्सितीले पोस्टको दिशा दिन सकेनन् ।

खेलको ६० औं मिनेटमा किलियन एमबाप्पे सरबियाको स्थानमा मैदान प्रवेश गरेका थिए । एमबाप्पेले ७४ औं मिनेटमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलरक्षक स्पोर्टिएल्लोले बचाए । ७६ औं मिनेटमा नेयमारले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार फितलो रहयो । ८० औं मिनेटमा एमबाप्पेको प्रहारलाई पालोमिनोले उत्कृष्ट ट्याकल गर्दै गोलरक्षकसम्म नपुग्दै विफल पारे ।

८५ औं मिनेटमा जुलियन ड्राक्सलरको कर्नरमा एरिक माक्सिम चुपो मोटीङको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै ड्राक्सलरको लामो दुरीको प्रहार आकासियो ।

९० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । निकै दबाबका बीच आक्रामक मुभ बनाएको पीएसजीका लागि मार्किन्हसले गोल गरे । चुप मोटीङको क्रसमा नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्ट पार गराएका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले विजयी गोल गर्यो । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पीएसजीलाई अन्तिम चार नजिक पुर्याएका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा लुइस मुरिएलले पाएको अवसर सदुपयोग गर्न नसक्दा पीएसजीले सेमिफाइनलमा स्थान पक्का गर्यो ।

यस जितसँगै पीएसजी क्लब इतिहासमा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्