सन्दिप लामिछाने आवद्ध सिपिएल आजदेखि


 


काठमाडौं, भदौ २

क्यारेबियन प्रिमियर लिग सिपिएल सिजन २०२० आजदेखि ट्रिनिडाड एण्ड टोबेगोमा सुरु हुँदैछ ।

सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स, बार्बाडोस ट्राइडेन्ट्स, गुयाना एमेजन वारियर्स, सेन्ट लुसिया जुक्स, जमैका तलावाज र ट्रीनबेगो नाइट राइडर्सबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस सिजन जमैकाबाट सिपिएल खेल्ने छन् । सिपिएल सेप्टेम्बर १० सम्म चल्ने छ । सेप्टेम्बर १९ देखि यूएईमा इन्डियन प्रिमियर लिग आइपिएल सुरु हुने हुँदा सिपिएल खेलाडीलाई कोरोना महामारीपछि सबैभन्दा राम्रो तयारी पनि हुने छ ।

सिपिएलको उद्धघाटन खेलमा आज गुयाना एमेजन वारियर्स र ट्रीनबेगो नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ७ः ४५ देखि सुरु हुने छ । गुयानामा वेस्टइन्डिजका युवा ब्याट्सम्यान शिम्रन हेटमायर, निकोलस पूरन, न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलर, दक्षिण अफ्रिका स्पिनर इमरान ताहिर, अष्ट्रेलियाका स्पिनर क्रिस ग्रिन जस्ता खेलाडी छन् ।

राइडर्समा वेस्टइन्डिजका अलराउन्डर काइरान पोलार्ड कप्तानका रुपमा छन् । न्युजिल्यान्डका ओपनर कोलिन मुनरो, विकेटकिपर टिम सिफर्ट, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, भारतीय अनुभवी स्पिनर प्रबिण ताम्बे र वेस्टइन्डिजका अलराउन्डर सुनिल नारायण जस्ता खेलाडी छन् ।

वारियर्स र राइडर्सबीच सिपिएलमा कुल १९ खेल भएको छ । जसमा राइडर्सले १० र वारियर्सले ९ खेल जितेका छन् । सिपिएल कोरोनामहामारी पछि हुने पहिलो टि२० शैलीको प्रतियोगिता र फ्रेन्चाइज लिग हो । कोरोना महामारीको कारण सिपिएलका सबै खेल समर्थक बिनाको खाली रंगशालामा हुने छन् ।

सन्दीप सम्मिलित जमैकाले पहिलो खेल बुधबार जुक्सविरुद्ध खेल्ने छ । नेपाली स्पिनर सन्दीपलाई जमैकाले ९० हजार डलर अर्थात १ करोड ८ लाख नेपाली रुपैयाँमा बराबरीमा अनुबन्ध गरेको थियो । यसअघि राष्ट्रिय टोलीको अन्तराष्ट्रिय खेल जुधेको हुँदा सन्दीपले पूरै सिजन खेल्न पाएका थिएनन् ।

यस पटक सिपिएल र आइपिएल दुवैको समयमा नेपालको कुनैपनि अन्तर्राष्ट्रिय खेल छैन । त्यसैले सन्दीपले सिपिएल र आइपिएल दुबै पुरै संस्करण खेल्ने छन् । यसअघिका दुबै सिजन सन्दीपले फरक फरक टोलीबाट खेलेका थिए । सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स र २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सिपिएल खेलेका थिए ।

प्रकाशित मिति: २ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्