भोजपुरमा मुन्धुमी साहित्यबारे विमर्श हुने


 


भोजपुर, जेठ २३
नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा नेपाली वाङ्मय परिषद्ले भोजपुर सदरमुकाममा जेठ ३० गते ‘किरात राई जातिको मुन्धुमी साहित्य’को बारेमा विमर्श कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा किरात राई जातीको मुन्धुमी साहित्य र त्यसमा भूकम्पको असरबारे मुन्धुमका विज्ञहरूबीच गम्भीर विमर्श हुने प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले जानकारी दिए ।

साहित्य–कला प्रतिष्ठान भोजपुर स्थानीय आयोजक रहने कार्यक्रममा भूकम्पसम्बन्धी जनचेतना सम्प्रेषण गर्ने उद्देश्यले भूकम्प विशेष काव्यसभाको समेत आयोजना गरिने नेपाली वाङ्मय परिषद्का अध्यक्ष एवम् प्राज्ञ शशी लुमुम्बूले बताए । उनका अनुसार, कार्यक्रममा भोजपुर र आसपासका जिल्लाबाट समेत कविहरूको सहभागिता रहने छ ।

कार्यक्रममा मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङले किरात राई जातिको मुन्धुमी साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् भने कार्यपत्र माथि प्राध्यापक कमलजंग राई, साहित्यकार मणि राई लगायतले टिप्पणी गर्ने छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्