कोशी र लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरिँदै



काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने तयारीमा पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्यमा देखिएको विवादपछि कांग्रेसले प्रदेश सरकारहरूबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै कोशीमा पनि सरकार छाड्ने प्रक्रिया अघि बढेको हो।

यद्यपी यस विषयमा औपचारिक निर्णयका लागि बिहीबार बसेको प्रदेश कार्यदलको बैठकले भोलिसम्म पर्खने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका मन्त्रीहरू सरकारमा सहभागी छन्।

यसअघि सरकारमा रहने वा बाहिरिने विषयमा कांग्रेसभित्र फरक मत देखिए पनि पछिल्लो राजनीतिक घटनाक्रमपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट बाहिरिने विषयमा दुवै पक्ष एकमत बनेको बताइएको छ।

यता लुम्बिनी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने तयारीमा छ। पार्टी केन्द्रको निर्णयअनुसार बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी पाँच मन्त्रीलाई राजीनामा गराउने तयारी गरिएको छ। यसका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी मन्त्रीहरू, प्रमुख सचेतक र सचेतकलाई दाङमा बैठकका लागि बोलाएका छन्।

हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी, आर्थिक मामिला, उद्योग, पर्यटन तथा यातायात, सामाजिक विकास तथा वन तथा वातावरण मन्त्रालय सम्हाल्ने पाँच मन्त्री सहभागी छन्।

बैठकले गर्ने निर्णयअनुसार उनीहरूले राजीनामा दिने तयारी रहेको जनाइएको छ।

उनीहरूको राजीनामासँगै प्रदेशको सत्ता समीकरणमा परिवर्तन आउने सम्भावना बढेको छ।

सुदूरपश्चिम प्रदेशमा बजेट विवादपछि कांग्रेस–एमालेबीच सत्ता सहकार्यमा दरार आएको थियो। बजेटमा खर्च कटौतीको विषयमा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यही घटनापछि कांग्रेस–एमालेबीचको सत्ता सहकार्यमा विवाद चुलिएको हो।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्