कोरोना कहरले घटायो बैंकको वितरणयोग्य नाफा


 


काठमाडौं, भदौ ४

कोरोना महामारीका कारण आर्थिक वर्ष ०७६–७७ मा बैंकहरूको वितरणयोग्य नाफा ११.१५ प्रतिशतमा सीमित भएको छ ।

गत वर्षको आठ महिना राम्रोसँग आर्थिक गतिविधि गर्दै आएका वाणिज्य बैंकहरूले पछिल्लो चार महिना चैत–असार नियमित काम गर्न नपाउँदा नाफा खुम्चिएको हो ।

केही दिनअघि बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यसपालिको वितरणयोग्य नाफा अघिल्लो वर्षको तुलनामा करिब ३३ प्रतिशतले कम हो । कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई सहुलियत दिन नेपाल राष्ट्र बैंकले ल्याएको नीतिका कारण अधिकांश बैंकको नाफा घटेको बंैकरहरूको भनाइ छ । बैंकको नाफा घटेसँगै सेयरधनीलाई बाँड्न मिल्ने नाफा पनि घटेको छ । कुनै पनि बैंकको गत वर्षको नाफा ऋणात्मक भने छैन ।

कोरोना भाइरसका कारण अर्थतन्त्रमा अझै सुधार नआएका कारण चालु आर्थिक वर्षको अन्त्यसम्म कतिपय बैंकको नाफा ऋणात्मक हुने अनुमान गर्न थालिएको छ ।

‘चार महिना चैत–असार० को असरले केही बैंकको अवस्था नाजुक देखिइसकेको छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । उनले चालु आर्थिक वर्षको सुरुदेखि नै समस्या देखिएको र समस्याको अन्त्य कहिले हुन्छ भन्ने यकिन नभएकोले यो वर्ष बैंकहरू निकै जोखिममा जान सक्ने उनले बताए । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पनि आउँदो पुससम्म केही बैंकको नाफा ऋणात्मक हुने सम्भावना देखिएको बताउँछन् ।

केन्द्रीय बैंकले कोरोनाका कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई बचाउन ब्याज छुटको साथै कर्जाको साँवा र ब्याज तिर्ने अवधि असोजसम्म लम्ब्याएको छ । त्यस्तै बैंकहरूको स्प्रेड दर घटाएर ४।४० कायम गरिएको छ । वाणिज्य बैंकले ०।७५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने नियम पनि बनाइएको छ ।

कतिपय बैंकर केन्द्रीय बैंकले आगामी असोज मसान्तसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गरेकाले वितरणयोग्य नाफा बढ्न सक्ने अपेक्षा गर्छन् । यसअघि आर्थिक वर्ष सकिएको १५ दिनसम्म उठेको ब्याजलाई मात्र अघिल्लो आर्थिक वर्षको नाफामा गणना गर्न पाउने व्यवस्था थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरूको कुल चुक्तापुँजी करिब दुई खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ । सबै बैंकहरूको वितरणयोग्य नाफा ३१ अर्ब २७ करोड रूपैयाँ छ । गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकले औसतमा एक अर्ब १५ करोड रूपैयाँ वितरणयोग्य नाफा कमाएका छन् । अघिल्लो वर्ष सबै बैंकको औसत वितरणयोग्य नाफा एक अर्ब ७३ करोड रूपैयाँ थियो । चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नबिल बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी तीन अर्ब चार करोड रूपैयाँ छ । अघिल्लो वर्ष यो तीन अर्ब १८ करोड रूपैयाँ थियो ।

नबिलको वितरणयोग्य नाफा झण्डै साढे चार प्रतिशतले घटेको छ । नबिलले गत आर्थिक वर्षको कमाइबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । वितरणयोग्य नाफा सबभन्दा कम सिभिल बैंकको छ । सिभिलले २५ करोड रूपैयाँ वितरण गर्ने हैसियत राख्छ । यो नाफाबाट सिभिलले चुक्तापुँजीको तीन प्रतिशत मात्रै लाभांश वितरण गर्न सक्ने देखिन्छ । गत वर्षको आम्दानीबाट धेरै लाशांश वितरण गर्न नसक्ने अर्को बैंक नेपाल इन्मेस्टमेन्ट हो । यसले आफ्ना सेयरधनीलाई ४।५७ प्रतिशत लाभांश वितरण गर्ने हैसियत राख्छ ।

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्