दिल्लीको नयाँ समिकरणले सन्दिपलाई घाटा


 


नयाँदिल्ली, भदौ ४ एजेन्सी

इन्डियन प्रिमियर लिग आइपिएल सिजन २०२० को लागि फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्टजेलाई अनुबन्ध गरेको छ ।

आइपिएल सुरुहुन एक महिना बाँकी रहँदा दिल्लीले इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सको स्थानमा नोर्टजेलाई टोलीमा अनुबन्ध गरेको हो । वोक्सले टेष्ट क्रिकेटमा बढि ध्यान दिने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

२६ वर्षिय नोर्टजेले दक्षिण अफ्रिकाबाट ६ टेष्ट, ७ ओडिआई र ३ टि२० आई खेलेका छन् । टेष्टमा १९, ओडिआईमा १४ र टि२० आईमा २ विकेट लिएका छन् । सन् २०१९ मा टेष्ट र टि२० आईमा भारतविरुद्ध तथा ओडिआईमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए ।

नोर्टजेको आगमनले दिल्लीको तीब्र गतिको बलिङ युनिट बलियो बन्ने छ । दिल्लीमा दक्षिण अफ्रिका दुई तीव्र गतिका बलर भएका छन् । कागिसो रबाडा दिल्लीका प्रमुख बलरको रुपमा खेल्दै आएका छन् । नोर्टजेलाई गत सिजनमा कोलकाता नाइट राइडर्सले न्युनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । तर कुममा चोटका कारण खेल्न पाएनन् ।

नोर्टजेको आगमनले लेग स्पिनर सन्दीप लामिछानेलाई टोलीमा स्थान बनाउन कठिन र उच्च प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । आइपिएलमा ४ मात्र विदेशी खेलाडी खेलाउन पाईन्छ । दिल्लीले अक्सनमा अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस र वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायरलाई तल्लोक्रमको ब्याटिङ समस्या समधानको लागि मोटो रकम खर्चेर अनुबन्ध गरेको थियो ।

दिल्लीले स्टोइनिसलाई ४ करोड ८० लाख र हेटमायरलाई ७ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेको थियो । गतवर्ष दिल्लीको तल्लोक्रम ब्याटिङ निकै कमजोर हुँदा पहिलो पटक फाइनलमा पुग्न असफल भएको थियो । जसले स्टोइनिस र हेटमायर दुबै दिल्लीको पहिलो रोजाईका खेलाडी बन्न सक्ने अनुमान गरिएको छ ।

रबाडा दिल्लीका प्रमुख बलर हुन् । तीव्र गतिको बलरमा ईशान्त शर्मा छन् । ईशान्त टेष्ट उपयोगी बलर हुन् । त्यसैले रबडाको जोडीको रुपमा नोर्टजेकोनै बलियो सम्भावना छ । स्पिनरमा दिल्लीसँग अनुभवी अफ स्पिनर रविचन्द्रन आश्विन र लेग स्पिनर अमित मिश्रा छन् । जसले गर्दा टोली सन्तुलनको लागि दिल्लीले चार विदेशी खेलाडीको रुपमा रबाडा, नोर्टजे, स्टोइनिस र हेटमायरलाई खेलाउने बलियो सम्भावना देखिन्छ ।

सन्दीपलाई खेलाउदा मिश्रालाई बेन्चमा राख्नुपर्छ । मिश्रा मात्र होईन नोर्टजे र स्टोइनिस मध्य एकलाई पनि बेन्चमा राख्नु पर्ने हुन्छ । अर्कोतर्फ वेस्टइन्डिजका अलराउन्डर किमो पलले पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जसले गर्दा दिल्लीले सन्दीपलाई यो संस्करण पनि पुरै खेलमा मौका दिने सम्भावना न्युन रहन्छ ।

सन् २०१८ मा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ३ खेल मात्र खेलेका थिए । सन् २०१९ मा सन्दीपले ६ खेल खेलेका थिए । सन्दीपले २०१८ मा ५ र २०१९ मा ८ विकेट लिएका थिए । दिल्ली यस पटकको उपाधिको बलियो दाबेदार टोली हो ।

वेस्टइन्डिजमा मंगलबार देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग सिपिएलको लागि हाल सन्दीप ट्रिनिडाड एण्ड टोबेगोमा रहेका छन् । सन्दीपले सिपिएल जमैका तलावाजबाट खेलिरहेका छन् । पहिलो खेलमा जित हासिल गरेको जमैकाका लागि सन्दीपले पहिलो खेलमा १ विकेट लिएका थिए ।

सिपिएलमा सन्दीपले कस्तो प्रर्दशन गर्छन् त्यसले पनि आइपिएलमा दिल्लीको प्लेइङ ११ को रणनितीमा प्रभाव पार्ने छ । सिपिएल सेप्टेम्बर १० मा सकिने छ । आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने छ ।

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्