यी हुन् एउटै खेलमा शतक हान्ने र १० विकेट लिने दुर्लभ खेलाडी


 


काठमाडौं, भदौ ११ एजेन्सी

टेष्ट विश्व क्रिकेट इतिहासकै सबैभन्दा पुरानो शैली हो । टेष्ट पछि एक दिवसिय, टि२० हुँदै टि१० शैलीको क्रिकेट विकासको क्रममा छ । छोटो शैलीको क्रिकेटले खेलाडीमा धेरै परिवर्तन ल्याएको छ ।

पछिल्लो समय टेष्टलाई धेरैले अल्छी खेल पनि भन्ने गर्दछन् । तर टेष्टको महत्त्व र लोकप्रियता उतिनै छ । अझैपनि एसोएसिएट राष्ट्रले टेष्ट मान्यताको सपना देख्ने गर्दछन् । टेष्टमा क्षमता मात्र भएर हुँदैन । धैर्यता र सहनशिल क्षमता पनि त्यतिनै आवश्यक पर्दछ ।

एक दिवसिय र टि२० मा ब्याट्सम्यान र बलरले सिमित मात्र बलिङ र ब्याटिङ गर्न पाउँछन् । त्यसैले प्रतिभा भएको खेलाडीले आफ्नो क्षमता देखाउन नपाउन पनि सक्छ । असली प्रतिभा चिन्ने र देखाउने सबैभन्दा उत्कृष्ट शैली टेष्ट हो ।

अलराउन्डरको भूमिका हरेक शैलीको खेलमा निकै महत्त्वपूर्ण हुन्छन् । कमै खेलमा मात्र एउटा खेलाडीले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । त्यस्तै टेष्ट क्रिकेट एकै खेलमा १० विकेट र शतक प्रहार गर्ने तीन खेलाडी यस प्रकार छन् ।

इयान बोथम इंग्ल्यान्ड

इंग्ल्यान्डका पुर्व स्टार अलराउन्डर इयान बोथम टेष्टमा क्रिकेटमा शतक र १० विकेटमाथि एकै खेलमा लिने पहिलो खेलाडी हुन् । उनले बोथमले सन् १९८० मा भारतविरुद्धको टेष्ट खेलमा पहिलो इनिङमा १ सय १४ रनको शतकीय इनिङ खेल्नुको साथै कुल १३ विकेट लिएका थिए । बोथमले पहिलो इनिङमा ६ र दोस्रो इनिङमा ७ विकेट लिएका थिए । उनले शतकीय इनिङ खेल्न १ सय ४४ बलमा १७ चौका प्रहार गरेका थिए ।

इमरान खान पाकिस्तान

पाकिस्तानका पुर्व कप्तान तथा वर्तमान प्रधानमन्त्री इमरान खान क्रिकेट इतिहासमा सफल अलराउन्डर मध्यका एक हुन् । पाकिस्तानका विश्वकप विजेता कप्तान इमरान खानले सन् १९८३ मा भारतसँगको ६ टेष्ट सिरिज अन्तर्गत तेस्रो खेलको पहिलो इनिङमा १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए ।

उक्त इनिङ खेल्न उनले १ सय २१ बलमा ९ चौका र ५ छक्का प्रहार गरेका थिए । उक्त खेलमा उनले कुल ११ विकेट लिएका थिए । पहिलो इनिङमा ६ र दोस्रोमा ५ विकेट लिदै पाकिस्तानलाई १० विकेटको जित दिलाएका थिए । यस सफलता हात पार्ने इमरान दोस्रो खेलाडी हुन् ।

सकीब अल हसन बंगलादेश

बंगलादेशका सर्वाधिक सफल अलराउन्डर सकीब अल हसन यस उपलब्धि हात पार्ने तेस्रो खेलाडी हुन् । हसनले सन् २०१४ मा जिम्बावेविरुद्धको दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गर्ने क्रममा पहिलो इनिङमा १ सय ३७ रन बनाएका थिए । सकीबले १ सय ८० बलमा १८ चौका र २ छक्का प्रहार गरेका थिए । सकीबले पहिलो र दोस्रो इनिङमा ५—५ विकेट लिएका थिए ।

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्