मेस्सीको नयाँ यात्राबारे सर्वत्र चासो


 


बार्सिलोना, भदौ ११ एजेन्सी

फुटबल जगतमा अहिले एउटा प्रश्न धेरैको मनमा छ । सुपर स्टार लियोन मेस्सीले बार्सिलोना छाडे भने अब कहाँबाट खेल्नेछन् ?

जब उनले मंगलबार क्लबलाई पत्र लेख्दै क्लब छाड्न चाहेको जानकारी गराएपछि त्यसपछि थुप्रै क्लबले उनीलाई भित्राउन चाहेको चर्चा सुरु भएको छ । अहिलेको अवस्थामा उनका लागि सबैभन्दा उपयुक्त क्लबका रुपमा प्रिमियर लिग टोली म्यानचेस्टर सिटी मानिएको छ । क्लबलाई पत्र लेख्नुअघि मेस्सी र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाबीच कुराकानीबीच कुरा भएको सार्वजनिक भइसकेको छ ।

मेस्सीसँग केहि वर्षसँगै काम गरेका कारण ग्वार्डिओलाले प्रशिक्षण दिइरहेको क्लब उनको रोजाईमा पर्न सक्ने अनुमान गरिएको छ । ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा टोलीले निकै सफलता प्राप्त गरेको थियो ।

त्यसअर्थ पूर्व प्रशिक्षक र अर्जेन्टिनी फुटबल टोलीका सहकर्मी सर्जियो अगुएरोसँग सहकार्य गर्न पाउने भएकोले पनि मेस्सीका लागि सिटी राम्रो विकल्प हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै पेरिस सेन्ट जर्मेन पिएसजी, इन्टर, म्यानचेस्टर युनाइटेड र न्यूवेल्स ओल्ड ब्वाइजले मेस्सीमाथि चासो देखाएको छ । न्यूवेल्स मेस्सीले फुटबल सिकेको क्लब हो ।

नेयमार र अर्जेन्टिनाकै एन्जल डि मारिया भएका कारण पिएसजी मेस्सीका लागि उपयुक्त गन्तव्य हुन सक्छ । तर, यसै पनि ठूलो खर्च बेहोरिरिहेको क्लबले मेस्सीलाई लिने जोखिम उठाउनेमा शंका छ ।

इन्टरले इच्छा देखाएपछि सिटी र पिएसजीले जस्तो मेस्सीका लागि खर्च गर्ने क्षमता टोलीमा देखिन्न ।

अर्को म्यानचेस्टर युनाइटेड पनि मेस्सीका लागि विकल्प हुन सक्छ । तर युनाइटेडले धेरै गम्भिर भएर यो विषयमा हेरेको देखिन्न । अर्को अहिले नै उनी अर्जेन्टिजा फर्कने सम्भावना पनि कम छ ।

त्यसैले सिटी मेस्सीलाई लिने हकमा सबै भन्दा अगाडि हुन सक्छ । तर, मेस्सीलाई बेच्न बार्सिलोना तयार हुन्छ हुँदैन भन्ने अझै प्रष्ट भएको छैन । बार्सिलोना अहिले पनि मेस्सीलाई क्लबमै राख्न प्रयासरत रहेको क्लबका खेलकुद निर्देशकले बुधबार पत्रकार सम्मेलनमा प्रष्ट पारेका थिए ।

मेस्सी र क्लबका अध्यक्ष जोसेप मारिया बोर्टेमाउबीच छलफल भएपछि मात्र यो विषयमा टुंगो लाग्ने सम्भावना रहेको छ । उनलाई क्लबमा राख्न बोर्डले हरसम्भव प्रयास गर्नेछ । यदि सफल नभएको खण्डमा भने सिटीले उनलाई खरिद गर्न औपचारिक प्रस्ताव गर्ने सम्भावना छ ।

केहि सञ्चारमाध्यमले सिटीले मेस्सीलाई तीन वर्षको सम्झौताको प्रस्ताव गर्ने योजनमा छ । त्यसपछि सिटीकै स्वामित्व रहेको एमएलएस टोली न्यू योर्क सिटी एफसीमा खेल्ने विकल्प पनि उनका लागि हुन सक्नेछ ।

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्