नयाँ नोट सीमित मात्रामा वितरण गर्ने तयारी


 


काठमाडाैँ । ‘कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ । ’ अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका हात्तीवनका प्रतीक खनालले भने, “यसपालि नयाँ नोटको कुरा छाडौँ, सकुशल बस्न पाए हुन्थ्यो ।”

मुलुकमा कोरोना कहर सुरु भएयता नेपाल राष्ट्र बैंकले ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ भनी दिएको बारम्बारको निर्देशन दशैँमा पनि लागू गर्नुपर्ने अवस्था अहिले देखिएको छ ।

कोरोना सन्त्रासका कारण सर्वसाधारणको मात्रै होइन विगतमा व्यवस्थित तरिकाले विभिन्न ठाउँमा ठूलै भीडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैंकले पनि यसपालि नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले विषम परिस्थितिमा विगतमा जस्तो तामझामसाथ नयाँ नोट वितरण गर्ने अवस्था नरहेको भन्दै यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने बताए । 

यसपालि दशैँ आउन अझै समय रहेको हुँदा अहिले नै केही निर्णय लिने अवस्था नभएको भन्दै उनले कोरोनाको विषम परिस्थितिले के कस्तो अवस्था ल्याउँछ अझै हेर्न बाँकी रहेको जनाए । त्यसकै आधारमा नयाँ नोट वितरण गरिने उनले बताए । ‘फाट्टफुट्ट त बाँड्नैपर्ने हुन्छ तर पोहोर सालजस्तो हुँदैन । सकेसम्म सीमित गर्नुपर्ने हुन्छ’ उनको विचार छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक सय, पचास, पाँच सय र एक हजार रुपियाँका नयाँ नोट आइसकेका छन् । आगामी असोज १५ सम्म पाँच, दस र बीसका नोट आउने प्रक्रियामा रहेको जनाइएको छ तर कार्ककारी निर्देशक नेपालले भने, “ल्याउने हो अहिले सबै बन्द छ । निर्धारित समयभन्दा केही पछाडि जाला । ” दशैँसम्म एक हजार रुपियाँको समेत गरी ५० अर्ब रुपियाँ बराबरका नयाँ नोट आइसक्ने जानकारी उनले दिए । 

नोटको सुरक्षा गर्न आग्रह
पूजाआजा गर्दा तथा हरेक दिन मन्दिरमा गरिने पूजामा कागजी नोटको प्रयोग नगर्ने, नोटमा रातोलगायत विभिन्न रङको प्रयोग नगर्ने, फोहोर तथा चिसो हातले नोट नछुने, नोटलाई कच्याककुचुक गरेर नराख्ने, पर्समा राख्दा पनि पट्याएर सीधा बनाएर राख्न राष्ट्र बैंकले जोड दिँदै आएको छ ।

नेपाल राष्ट्र बैंकको सफा नोट नीतिमा उल्लेख भएअनुसार झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटको अङ्क, अक्षर, चित्र तथा सुरक्षण व्यवस्था बिग्रिएको वा नबुझिने गरेको नोट चलनचल्तीमा ल्याउन पाइँदैन । त्यस्तै रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको र पूर्वराजाको तस्बिर भएको नोट पनि चलनचल्तीमा ल्याउन नपाइने गत जेठमा संशोधित नीतिमा जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले नोट सटही तथा भुक्तानी गर्नुपर्दा निश्चित प्रक्रिया अपनाई डिस्इन्फेक्ट अर्थात् जीवाणुरहित बनाउनुपर्ने पनि व्यवस्था छ । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: १७ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्