फेरि बराबरीमा रोकियो जर्मनी


 


बसेल, भदौ २२ एजेन्सी

जर्मनीले युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि बराबरीको नतिजा निकालेको छ । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो ।

बसेलमा भएको खेलमा घरेलु टोलीविरुद्ध अग्रता लिएर पनि जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको १२औं मिनेटमा घरेलु टोलीले अग्रता लिने अवसर गुमाएको थियो । रेनाटो स्टेफेनको पासमा ब्रिल इम्वोलोको प्रहारलाई जर्मनीका गोलरक्षक बर्न लेनोले कुनै गल्ती गरेनन् ।

त्यसको दुई मिनेटपछि इल्काए गुन्डोगानले गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए । डिफेन्डर म्याथियस जिन्टरको पासमा गुन्डोगानले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट फिनिस गरेका थिए । २८औं मिनेटमा घरेलु टोलीका हरिस सेफेरोभिकको प्रहार पोस्टबाट थोरै बाहिरिदा बराबरीबाट बञ्चित बन्यो ।

३२औं मिनेटमा टिमो वेर्नरको पासमा जुलियन ड्राक्सलरको प्रहारलाई स्वीट्जरल्यान्डका गोलरक्षक यान सोम्मेरले उत्कृष्ट बचाउ गरे । रिवाउन्डमा लिरोए सानेले प्रयास गरेपनि उनी अफसाइड ठहरिए । ३६औं मिनेटमा सेफेरोभिकको प्रहारलाईै जर्मनीका गोलरक्षक लेनोले सहजै बचाए ।

३८औं मिनेटमा रोविन गोसेन्सको पासमा टिमो वेर्नरको भली प्रहार पोस्टबाट बाहिरिदा जर्मनी अग्रता दोब्बर बनाउनबाट चुक्यो । ४२औं मिनेटमा सेफेरोभिकको प्रहारमा पोस्ट बाधक बन्दा स्वीट्जरल्यान्ड बराबरीबाट बञ्चित बन्यो ।

५७औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । सिल्भान विडमेरले ब्रिल इम्वोलोले पेनाल्टी बक्सभित्र उपलब्ध गराएको बललाई सिधै जाली चुमाउदा लेनोले रोक्ने कुनै मौका नै पाएन । ६७औं मिनेटमा ग्रानिट झाकाको प्रहारलाई जर्मनीका गोलरक्षक लेनाले सहजै नियन्त्रणमा लिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

बराबरीपछि जर्मनी २ खेलबाट २ अंक जोडेर लिग ‘ए’ ४ मा तेस्रो स्थानमा तथा १ अंक जोडेर स्वीट्जरल्यान्ड पुछारमा छ । स्पेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहँदा युक्रेन ३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्