वेल्सले बुल्गेरियालाई हरायो


 


वेल्स, भदौ २२ एजेन्सी

वेल्सले युईएफए नेसन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियामाथि १–० को जित निकाल्दै वेल्सले लगातार दोस्रो जित दर्ता गरेको हो ।

घरेलु मैदान कार्डिफ सिटीमा निको विलियम्सले इन्ज्युरी समयमा गोल गर्दै वेल्सलाई लगतार दोस्रो जित दिलाए । वेल्सले यसअघि पहिलो खेलमा फिनल्यान्डमाथि १–० कै जित निकालेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बुल्गेरियाले २५औं मिनेटमा पहिलो अवसर सिर्जना गरेपनि सदुपयोग हुन सकेन । पहिलो हाफको इन्ज्युरी समयमा डेभिड ब्रुक्सको भली प्रहार बाहिरिदा वेल्स अग्रता लिनबाट चुकेको थियो । ७४औं मिनेटमा वेल्सका ड्यानियल जेम्सले अर्को अवसर खेर फालेको थियो ।

बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर दुई वैकल्पिक खेलाडीको समन्वयमा गोल निस्कँदा वेल्स १–० ले विजयी हुन सफल भयो । जोनाथन विलियम्सको क्रसलाई निको विलियम्सले गोलमा परिणत गरेका थिए । निको ६५औं मिनेटमा तथा जोनाथन ७६औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

यही समुहको अर्को खेलमा फिनल्यान्डले आयरल्यान्डमासथ १–० को जित निकालेको छ । फिनल्यान्डको जितमा फेड्रिक जेन्सनले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

लगातार दोस्रो जितसँगै वेल्स लिग ‘बी’ ४ मा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बुल्गेरिया १ अंकसहित तेस्रो स्थानमा छ । फिनल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा १ अंक रहेको आयरल्यान्ड पुछारमा छ ।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्