एक खेल अगावै इंग्ल्यान्डलाई टि २० सिरिज


 


घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन टि२० आई सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८।५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ५४ बलमा ८ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहँदै जित पक्का गरे । मोईन अलीले ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे । इंग्ल्यान्डलाई जितका लागि अन्तिम दुई ओभरमा १८ रन चाहिएको थियो । १९ औं ओभरमा स्पिनर एडम जम्पाले पाँच बलमा १८ रन खर्चिए ।

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टो मिचेल स्टार्कले तेस्रो ओभरको पाँचौ बलमा ९ रनमा हिट विकेटका रुपमा आउट भएका थिए । दोस्रो विकेटका लागि जस बटलर र डेविड मलानले ८७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए । मलान १४ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा ४२ रनमा क्याच आउट भए ।

एश्टन अगरको बलमा मार्कस स्टोइनिसबाट क्याच हुनुअघि मलानले ३२ बलमा ७ चौका प्रहार गरे । टम ब्यान्टन २ र कप्तान ओईन मोर्गन ७ रनमा आउट भए । अष्ट्रेलिया एश्टन अगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्क र एडम जम्पाको नाममा १(१ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । खराब सुरुवात गरेको अष्ट्रेलियालाई तल्लोक्रमका ब्याट्सम्यानले छोटो तर आक्रामक इनिङ खेल्दै मध्यम योगफलमा पुर्याए । प्याट कमिन्स ५ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे ।

अष्ट्रेलियाको सुरुवात खराब रह्यो । पहिलो ओभरको तेस्रो बलमै जोफ्रा आर्चरले ओपनर डेभिड वार्नरलाई जस बटलरबाट शून्यमा क्याच गराए । मार्क वुडले एलेक्स केरीलाई दोस्रो ओभरको पाँचौ बलमा २ रनमा क्याच आउट गराउँदा अष्ट्रेलिया २–३ को कम्जोर अवस्थामा थियो ।

स्मिथले अष्ट्रेलियालाई समाल्न खोजेपनि पाँचौ ओभरको अन्तिम बलमा १० रनमा रन आउट हुन पुगेपछि थप दबाबमा परेको थियो । स्मिथले एक रन लिने क्रममा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले उत्कृष्ट रन आउट गरेका थिए । स्मिथले ७ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

चौथो विकेटका लागि कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले ४९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । फिन्चलाई १२ औं ओभरको अन्तिम बलमा क्रिस जोर्डनले ४० रनमा बोल्ड आउट गरे । एज लागेर बोल्ड आउट हुनुअघि फिन्चले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

स्टोइनिस १३ औं ओभरको अन्तिम बलमा २६ बलमा २ चौका र २ छक्का सहित ३५ रनमा क्याच आउट भए । स्पिनर आदिल राशिदको बलमा पहिलो सिलिपमा रहेका डेविड मलानले समातेपछि स्टोइनिस पेभिलिएन फर्केका थिए ।

ग्लेन म्याक्सवेल १७ बलमा १ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि म्याक्सवेल र अगरले ४३ रनको साझेदारी गरेका थिए । तल्लोक्रममा एश्टन अगर २० बलमा २ चौका सहित २३ रनमा रन आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । आदिल राशिद, मार्क वुड र जोफ्रा आर्चरले १–१ विकेट लिए । यस अघि पहिलो खेलमा इंग्ल्यान्ड २ रनले विजयी भएको थियो । तेस्रो खेल साउथह्याप्टनमै मंगलबार हुने छ ।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्