नेदरल्याण्डमाथि इटालीको संघर्षपूर्ण जित


 


आम्सर्टडम, भदौ २३ एजेन्सी

युईएफए नेसन्स लिगमा इटालीले नेदरल्यान्ड्समाथि कठिन जित हात पारेको छ । इटालीले नेदरल्यान्ड्सलाई उसकै मैदानमा १–० को झिनो जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।

योहान क्रुएप एरिना आम्सर्टडममा सोमबार राति भएको खेलको १२औं मिनेटमा निको बरेल्लाको प्रहार नेदरल्यान्ड्सका डिफेन्डर जोइल भेल्टम्यानलाई डिफ्लेक्ट हुदै पोस्ट नजिकैबाट बाहिरिदा इटाली अग्रता लिनबाट चुक्यो ।

३२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले दुई डिफेन्डर जर्जियो चिलियनी र लियोनार्दो बोनुचीलाई बिट गर्दै गरेको प्रहार फितलो बन्दा गोलरक्षक जियानलुजी डोनररुम्माले सहजै नियन्त्रणमा लिए ।

३४औं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेले हान्स हाटेबोइलाई बिट गर्दै २० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ३८औं मिनेटमा सिरो इम्मोविले र इन्सिग्नेको समन्वय मिलेपनि इम्मोविलेको प्रहार फितलो बन्दा इटाली अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गोल गदै इटालीलाई १–० को अग्रता दिलाए । जर्गिन्हो र इन्सिग्नेको उत्कृष्ट समन्वयमा सिरो इम्मोविले पेनाल्टी बक्सभित्रबाटै मिलाइदिएको पासमा अनमार्क रहेका बरेल्लाले हेडरमार्फत फिनिस गरेका थिए ।

५३औं मिनेटमा बरेल्लाको प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक जस्पर सेलेसनले बचाए । ५५औं मिनेटमा मेम्फिस डिपाएको पासमा जर्जिन्हो वाइनाल्डमको क्रसमा डोनी भान डि विकको प्रहार डोनररुम्माको हातमा पुग्दा नेदरल्यान्ड्स बराबरीबाट चुक्यो । ६१औं मिनेटमा डिपाएको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

६७औं मिनेटमा सिरो इम्मोविलेको पाससमा सव्सिच्युट मोइसा किनले पेनाल्टी बक्समा बल भेट्टाएपनि नियन्त्रणमा लिन नसक्दा नाथन एकेले क्लियर गरिदिए । ९०औं मिनेटमा मार्टिन डि रुनको क्रसमा कसैको निगरानीमा नरहेका मेम्फिस डिपाएको ओभरहेड किक क्रसबारा लागेर बाहिरिदा नेदरल्यान्ड्स बराबरीबाट चुक्दा इटाली विजयी हुन सफल भयो ।

यही समूहको अर्को खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनामाथि २–१ को पूनरागमन जित हात पारेको छ । पोल्यान्डको जितमा कामिल जिलिक र कामिल ग्रोसिक्कीले गोल गरे । बोस्नियाका हरिस हजराडिनोभिकले गरेको गोल सान्त्वना बन्यो ।

जितसँगै इटाली लिग ‘ए’ १ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित नेदरल्यान्ड्स ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पोल्यान्डको पनि ३ अंक रहेपनि गोलअन्तरमा पछि छ । १ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना पुछारमा छ ।

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्