रोड्रिग्वेज एभर्टनमा अनुबन्धित


 


एभर्टन, भदौ २३ एजेन्सी

स्पेनिस महारथी रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन् ।

एभर्टनले रियलका २९ वर्षीय मिडफिल्डर रोड्रिग्वेजलाई २ वर्षको लागि २० मिलियन युरोमा अनुबन्धित गरेको हो । पछिल्लो समय रियलमा खेल्ने अवसर नपाएपछि रोड्रिग्वेज नयाँ क्लबको खोजीमा रहेका थिए ।

एभर्टनले सोमबार राति एक एनिमेसन भिडियोमार्फत रोड्रिग्वेजलाई सार्वजनिक गरेको हो । भिडियोमा रोड्रिग्वेजले ‘म यहाँ आउन पाएकोमा खुसी छु । मलाई निलो जर्सीमा गर्व छ,’ भनेका छन् ।

एभर्टनमा अनुबन्धित भएसँगै रोड्रिग्वेजले आफ्नो करियरमा नयाँ चुनौती थपिएको बताएका छन् । ‘राम्रो सुरुवात गर्न चहान्छु । खुसी र उत्सुक छु । महत्वाकांक्षा लिएर आएको यस क्लबमा समर्पण र प्रतिबद्धता पुरा गर्नेछु,’ रोड्रिग्वेजले भनेका छन् ।

सन् २०१४ को ब्राजिल विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले हामेसलाई फ्रान्सेली क्लब मोनाकोबाट ६३ मिलियन पाउन्डमा अनुबन्धित गरेका थिए । हामेस त्यसपछि २०१७ मा बायर्न म्युनिखमा लोनमा अनुबन्धित भएका थिए । दुई सिजन लोनमा बायर्नमा बिताएपछि रोड्रिग्वेज गत सिजन रियल फर्किएका थिए ।

तर, पनि हामेसले प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा खेल्ने अवसर निकै कम पाएका छन् । उनले गत सिजन रियलबाट मात्रै १४ खेलमा अवसर पाए । उनले एक गोल गरे ।

रोड्रिग्वेजले एर्भटनका प्रशिक्षक कार्लो एन्सेलोटीको प्रशिक्षणमा रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने मौका पाएका थिए । रोड्रिग्वेजले दुई सिजन बायर्नबाट ६७ खेल खेल्दा १५ गोल गरे ।

रोड्रिग्वेजले रियलबाट १२५ खेलमा ३७ गोल गरेका छन् । उनले रियलबाट समान दुई पटक स्पेनिस ला लिगा, च्याम्पियन्स लिग, युईएफए सुपरकप र फिफा क्लब वल्डकप जितेका छन् । एकपटक स्पेनिस सुपरकोपा जितेका छन् ।

यस्तै बायर्न म्युनिखबाट दुई पटक बुन्डेसलिगा र एकपटक डिएफबी पोकल जितेका छन् । फ्रान्सेली क्लब मोनाको आउनुअघि तीन सिजन पोर्चुगिज क्लब पोर्टोमा बिताउँदा तीनपटक पोर्चुगिज लिग र समान एकपटक युरोपा लिग, सुपर टाका र टाका डि पोर्चुगलको उपाधि जितेका थिए ।

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्