डायमन प्रतिभा पुरस्कार गाैतमलार्इ


 


dhrubachandra-gautamकाठमाडौँ, असाेज १७

आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘डायमन प्रतिभा पुरस्कार’द्वारा सम्मान गरिएकाे छ ।उपन्यासकार डायमन शमशेर राणाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा राणाको योगदानबारे विशेष चर्चा गर्दे गाैतमलार्इ सम्मान गरिएकाे हाे ।

नेपाल साहित्यिक पत्रकार सङ्घका नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज शर्माले गौतमलाई पुरस्कार समर्पण गरे । शर्माले पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पार्दै भने, ‘गौतम आख्यान साहित्यमा विशिष्ट क्षमता भएका प्रतिभा हुन् । जसले नेपाली आख्यान साहित्यलाई अर्कै उचाइमा पु¥याए ।’

नेपाल प्रज्ञा–प्रतिष्ठान (आख्यान विभाग) तथा डाइमन शमशेर राणा प्रतिष्ठानद्वारा सङ्युक्त रुपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले डा. गौतम नेपाली आख्यान जगत्का धुरी व्यक्तित्व भएको बताए । उनले भने, ‘विश्वसाहित्यमा समेत प्रतिष्ठा र प्रसिद्धि पाएको प्रतिभाको नाममा स्थापित पुरस्कार अर्का प्रसिद्ध प्रतिभालाई दिइनु आफैमा उख्लेखनीय कुरा हो ।’

कार्यक्रम संयोजक तथा प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले कार्यक्रमबारे प्रकाश पार्दै विशिष्ट साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम तालिका बनाएरै योजनाबद्ध रुपमा गर्ने प्रतिष्ठानको सोचाइ रहेको बताए ।

पुरस्कृत व्यक्तित्व डा. गौतमले पुरस्कृत हुँदाको अनुभूति व्यक्त गर्दै भने, ‘लेखनकै शक्ति र सामथ्र्यले बाँचेका तथा विश्वमा प्रसिद्धि कमाएका श्रद्धेय व्यक्तित्वको नाममा स्थापित पुरस्कार प्राप्त गर्न पाउनु मेरा लागि अत्यन्त हर्षको विषय हो ।’

कार्यक्रममा समालोचक डा. कुमारप्रसाद कोइराला, डाइमन प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डे, सदस्य सञ्जय पन्थीलगायतले आख्यानकार राणा तथा पुरस्कृत व्यक्तित्वका बारेमा बोलेका थिए । कार्यक्रमको सहजीकरण बुद्धि तिमल्सिनाले गरेका थिए ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्