रोनाल्डो चम्किँदा पोर्चुगलको सान


 


स्वीडेन, भदौ २४

कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा मंगलबार स्वीडेनलाई पराजित गरेको छ ।

स्वीडेनस्थित फ्रेन्ड्स एरिनामा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले २–० को सहज जित दर्ता गरेको हो । रोनाल्डोले खेलको दुवै हाफमा १–१ गोल गरेका थिए । रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल पूरा गरे ।

अघिल्लो खेल चोटका कारण गुमाएका रोनाल्डोले यस खेलमा भने सुरुवाती रोजाईमा खेलेका थिए । खेलमा पोर्चुगलले दबाब कायम गरेपनि अग्रता लिन पहिलो हाफको अन्तिम मिनेटसम्म कुर्नुपर्यो । ४४ औं मिनेटमा स्वीडेनका गुस्टाभ स्वेनसनले जोआओ मोउटिन्होलाई लडाएपछि रेफ्रीले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए ।

रोनाल्डोले त्यसै फलमा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गर्दै पहिलो हाफमा १(० को अग्रता दिलाए । त्यसअघि स्वेनसनले १४ औं मिनेटमा ब्रुनो फर्नान्डेसलाई फल गरेपछि रेफ्रीले पहेंलो कार्ड दिएका थिए । फ्रिकिकमा रोनाल्डोले पोर्चुगलका लागि गरेको यो नवौं गोल थियो ।

दोस्रो हाफको ७२ औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे । जोआओ फेलिक्सको पासलाई नियन्त्रणमा लिँदै रोनाल्डोले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट सुन्दर गोल गरे । रोनाल्डोको प्रहारलाई गोलरक्षक ओल्सेनले बचाउने कुनै अवसर पाएनन् ।

त्यसअघि दोस्रो हाफमा ब्रुनो फर्नान्डेसको प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले अग्रता बढाउने अवसर गुमाएको थियो । रोनाल्डो ८० औं मिनेटमा डिओगो जोटालाई स्थान दिँदै मैदान छाडेका थिए । ८५ औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार पोस्टबाट थोरैले बाहिरिँदा फेलिक्सको प्रयास पनि खेर गयो । लगत्तै फेलिक्सको प्रहारलाई ओल्सेनले उत्कृष्ट बचाउ गरे ।

यस जितसँगै पोर्चुगलले समूह ए ३ मा शीर्षस्थानमा कायम रहेको छ । पहिलो खेलमा पोर्चुगलले क्रोएसियालाई ४(१ ले हराएको थियो । अर्को खेलमा फ्रान्सले क्रोएसियालाई ४(२ ले हराएपनि गोलअन्तरमा पोर्चुगलले फ्रान्सलाई उछिनेको हो । पोर्चुगल र फ्रान्सको ६(६ अंक रहँदा क्रोएसिया र स्वीडेन अंकविहिन छन् ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्