बेल्जियमको फराकिलो जित


 


बेल्जियम, भदौ २४ एजेन्सी

युइएफए नेसन्स लिगको समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा १ गोलले पछि परेपनि बेल्जियमले आइसल्यान्डमाथि ५–१ को सानदार जित हात पारेको हो ।

बेल्जियमको जितमा इंग्लिस क्लब चेल्सीका फरवार्ड मिचे बात्सुयाईले दुई तथा एक्सेल विस्टेल, ड्रिएस मेर्टिन्स र जेरेमी डोकुले समान एक गोल गरे । आइसल्यान्डका होल्मबर्ट एरोन फ्रिडजोन्सनले गरेको गोल सान्त्वना बन्यो ।

ब्रुसेसमा मंगलबार राति भएको खेलमा बल पोजेसनमा सुरुवात देखि नै पकड बनाएपनि बेल्जियमले खेलको ११औं मिनेटमा गोल खान पुगेको थियो । बिर्किर बिजारसनको पासमा होल्मबर्ट एरोन फ्रिडजोन्सनले गोल गरेका थिए । तर आइसल्यान्डको त्यो अग्रता दुई मिनेट पनि टिकेन १३औं मनेटमा एक्सेल विस्टेलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

१६औं मिनेटमा मिचे बात्सुयाईले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ५०औं मिनेटमा कप्तान केभिन डि ब्रुयनको पासमा ड्रिएस मेर्टिन्सले गोल गर्दै खेललाई ३–१ को आरामदायी स्थितिमा ल्याए ।

६९औं मिनेटमा मिचे बात्सयाईले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियम खेलमा ४–१ ले अघि बढ्यो । उनले यारी भर्सचाइरेनको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा जेरेमी डोकुले कप्तान ब्रुयनकै पासमा गोल गरेपछि बेल्जियमले ५–१ को फराकिलो जित दर्ता गर्न सफल भयो ।

नेसन्स लिगमा बेल्जियमको यो लगातार दोस्रो जित हो । यसअघि बेल्जियमले डेनमार्कलाई २–० ले हराएको थियो । जितसँगै लिग ‘ए’ २ मा अपराजित रहेको बेल्जियम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

अपराजित नै रहेको इंग्ल्यान्ड ४ अंक जोडेर दोस्रो तथा १ अंक जोडेर डेनमार्क तेस्रो तथा अंकविहीन आइसल्यान्ड पुछारमा छ । यही समूहको अर्को खेलमा डेनमार्क र इंग्ल्यान्डलाई गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्