यस्तो छ रोनाल्डोको सय गोलको यात्रा


 


काठमाडौं, भदौ २५ एजेन्सी

आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मंगलबार राति राष्ट्रिय टोलीबाट गोलको शतकीय आँकडा पार गरेका छन् ।

युइएफए नेसन्स लिग अन्तरगत मंगलबार राति स्वीडेनविरुद्ध २–० को जित निकालेको खेलमा रोनाल्डोले दुई गोल गर्दै शतकीय आँकडा पार गरेका हुन् । राष्ट्रिय टोलीबाट शतकीय गोल पुरा गरेपछि कप्तान रोनाल्डोले राष्ट्रिय टोलीको लागि यो ऐतिहासिक लक्ष्य पुरा गर्न पाएको गर्व लागेको बताएका छन् ।

‘जब तपाईहरुले मैले १०० गोल पुरा गर्न सक्छौं भन्नुहुन्छ । म भन्छु कि यो पर्याप्त छैन । पोर्चुगलका लागि १०१ गोल,’ उनले भने । पोर्चुगलको समेत सर्वाधिक गोलकर्ता रहेको रोनाल्डो युरोपबाट शतकीय अन्तर्राष्ट्रिय गोल पार गर्ने पहिलो तथा विश्वकै दोस्रो पुरुष खेलाडी बनेका छन् ।

सन् २००३ देखि राष्ट्रिय टोलीमा रहेका ३५ वर्षे रोनाल्डोले हालसम्म १६५ क्याप जित्दै १०१ अन्तर्राष्ट्रिय गोल गोलको आँकडा पार गरेका हुन् । रोनाल्डोभन्दा अघि एसियन राष्ट्र इरानका अली दाई १०९ गोल रहेका छन् ।

५१ वर्षीय अली दाईले १९९३ देखि २००६ को बीचमा १४९ खेलमा १०९ गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले २००६ मा कोस्टारिकाविरुद्ध ३–२ ले पराजित भएको मैत्रीपुर्ण खेलमा १ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १०९ पुर्‍याएका थिए ।

अब रोनाल्डो अली दाईको कीर्तिमान भेट्नबाट ८ गोलले मात्रै पछि छन् । उनले १८ वर्षको अवधिमा २००३ बाहेक हरेक वर्षमा निरन्तर गोल गरिरहेका छन् ।

पोर्चुगलको विभिन्न उमेर समूह यु–१५, यु–१७, यु–२०, यु–२१ र यु–२३ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि रोनाल्डोलाई सिनियर टोलीमा राखिएको थियो । उनले उमेर समूहको विभिन्न ३४ खेलमा १८ गोल गर्दै आफुलाई प्रमाणित गरेका थिए ।

उमेर समूहका लगातारको उच्च प्रदर्शनपछि १८ वर्षको उमेरमा २३ अगस्ट २००३ मा काजकस्तानविरुद्धको मैत्रीपुर्ण खेलबाट पोर्चुगलको सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । खेलमा पोर्चुगल १–० ले विजयी भएको थियो ।

सिनियर टोलीबाट ‘डेब्यु’ गरेको वर्ष दुई अन्तर्राष्ट्रिय खेलमा गोल गर्न असफल भएपनि उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । घरेलु मैदानमा आयोजना भएको युरोकपको समूह चरणमा १२ जुन २००४ मा ग्रीससँग २–१ ले पराजित भएको खेलमा इन्ज्युरी समयमा गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसपछि उनले लगातार गोल गरिरहेका छन् ।

२००३ देखि सिनियर टोलीमा लगातार स्थान बनाउदै लगातार आफ्नो प्रभाव छाडेका रोनाल्डोले पहिलो ह्याट्रिकको लागि ११ वर्ष कुर्नुपरेको थियो । उनले २०१४ को ब्राजिलमा हुने विश्वकपको छनोट ६ सेप्टेम्वर २०१३ मा भएको खेलमा नर्दन आयरल्यान्डविरुद्ध करियरको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गरे । खेलमा पोर्चुगल ४–२ ले विजयी भएको थियो ।

पहिलो ह्याट्रिक पुरा गर्नुअघि रोनाल्डोले ४० गोल गरिसकेका थिए । उनले हालसम्म ९ अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गरेका छन् । नर्दन आयरल्यान्डविरुद्धको ह्याट्रिकपछि रोनाल्डोले २०१३ मै स्वीडेनविरुद्ध ह्याट्रिक पुरा गरेका थिए ।

त्यसपछि रोनाल्डोले २०१५ मा अर्मेनिया, २०१६ मा एन्डोराविरुद्ध ह्याट्रिकसहित ४ गोल, २०१७ मा फारोई आइल्यान्ड, २०१८ मा स्पेन, २०१९ मा स्वीट्जरल्यान्डविरुद्ध एक ह्याट्रिक र लिथुआनियाविरुद्ध युरोकप २०२० को छनोटको दुई खेलमा दुईपटक नै ह्याट्रिक गरेका थिए ।

सिनियर राष्ट्रिय टोलीमा १८ वर्ष खेलिरहँदा रोनाल्डोले ४१ राष्ट्रविरुद्ध गोल गरेका छन् । सबैभन्दा धेरै लिथुआनिया र स्वीडेनविरुद्ध समान ७–७ गोल गरेका छन् । लिथुआनियाविरुद्ध दुई ह्याट्रिक नै समावेश छ । लक्जेमवर्ग, एन्डोरा, अर्मेनिया र लात्भियाविरुद्ध समान ५ गोल, इस्टोनिया, फारोई आइल्यान्ड, हंगेरी र नेदरल्यान्डविरुद्ध समान ४ गोल, बेल्जियम, डेनमार्क, नर्दन आयरल्यान्ड, रसिया, स्पेन र स्वीट्जरल्यान्डविरुद्ध ३ गोल गरेका छन् ।

अजरबैजान, बोस्निया एन्ड हर्जगोभिना, क्यामरुन, साइप्रस, चेक रिपब्लिक, इजिप्ट, काजकस्तान र साउदी अरबविरुद्ध समान २ गोल तथा अर्जेन्टिना, क्रोएसिया, इक्वेडर, फिनल्यान्ड, घाना, ग्रीस, आइसल्यान्ड, इरान, मोरोक्को, न्यजिल्यान्ड, नर्थ कोरिया, पानमा, पोल्यान्ड, सर्विया, स्लोभाकिया, युक्रेन र वेल्सविरुद्ध समान १ गोल गरेका छन् ।

यस्तै रोनाल्डोले युरोपका ३० राष्ट्रविरुद्ध ८७ गोल गरेका छन् । काफका ४ राष्ट्रविरुद्ध ६ गोल, एसियाका ३ राष्ट्रविरुद्ध ४ गोल, दक्षिण अमेरिकाका २ राष्ट्रविरुद्ध २ गोल, उत्तर अमेरिकी १ राष्ट्रविरुद्ध १ गोल र ओसियानाको १ राष्ट्रविरुद्ध पनि १ गोल गरेका छन् ।

यस्तै रोनाल्डोले युरो छनोटको ३५ खेलमा ३१ गोल, युरोकपको २१ खेलमा ९ गोल, नेसन्स लिगको ३ खेलमा ५ गोल, फिफा विश्वकप छनोटको ३८ खेलमा ३० गोल, फिफा विश्वकपको १७ खेलमा ७ गोल र फिफा कन्फेडेरेसन कपको ४ खेलमा २ गोल तथा ४७ मैत्रीपुर्ण खेलमा १७ गोल गरेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्