पहिलो खेलमै पिएसजीको हार


 


पेरिस, भदौ २६ एजेन्सी

अघिल्लो सिजनको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी नयाँ सिजनको पहिलो खेलमै स्तब्ध बनेको छ ।

पहिलो रोजाईका ७ खेलाडीविनै मैदान उत्रिएको पीएसजी नयाँ सिजनको पहिलो खेलमा लेन्ससँग १–० ले स्तब्ध बन्न पुगेको हो । पीएसजीलाई स्तब्ध बनाउन घरेलु टोलीका इग्नाटियस गनागोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पीएसजीका गोलरक्षक मर्सिन बुल्काको गल्तीमा गुनागोले गोल गरेका थिए ।

पहिलो रोजाईका ७ खेलाडी नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, केलर नाभास, मार्किन्हस, मोउरो इकार्डी र ड्यानियल पाराडेसलाई कोरोना संक्रमण पुष्टि भएपछि पीएसजी दोस्रो रोजाईका खेलाडी लिएर खेल्नु परेको थियो ।

बिहीबार राति भएको खेलमा लेन्सले खेलको १७औं मिनेटमा आक्रमण बुनेको थियो । इग्नाटियस गनागोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । पीएसजीको सिनियर टोलीबट डेब्यु खेल खेलिरहेका केज रुइज एटिलले २२औं मिनेटमा गरेको प्रहार लेन्सका गोलरक्षकले विफल पारे ।

२८औं मिनेटमा युवा खेलाडीहरु एटिल र अर्नाउड कालीमुइन्डो मुइंगाको समन्वयमा मिलेको पासमा एन्डर हेरेरा चुक्दा पीएसजीले अग्रता लिने अवसर गुमायो । दोस्रा हाफमा पनि पीएसजीले घरेलु टोली लेन्सलाई दवावमा राखेपनि गोलरक्षकको गल्तीमा ५७औं मिनेटमा गोल खान पुग्दा खेलमा १–० ले पछि पर्‍यो ।

डिफेन्डरले दिएको ब्याक पासमा गोलरक्षक बुल्काले रिलिज गरेको बललाई गुनागोले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा पीएसजीका गोलरक्षक बुल्काले अर्को सुन्दर बचाउ गर्दै अर्को गोल टारे । क्लेमेन्ट मिचेलिनलाई दिएको पासलाई गुनागोले क्रस गरेपछिको प्राप्त सिमोन बान्जाको हेडरलाई बुल्काले ब्लक गरेका थिए ।

दोस्रो रोजाईको टोलीले लेन्सविरुद्ध ७८ प्रतिशत बल पोजेसन बनाएपनि फिनिसिङमा चुक्दा पहिलो खेलमै १–० ले स्तब्ध बन्न पुग्यो ।

पीएसजीको अग्रपङ्ति युवा खेलाडी रुइज एटिल, अर्नाउड कालीमुइन्डो मुइंगा र पाब्लो सारावियाले सम्हालेका थिए । मिडफिल्डमा मार्को भेराट्टी, एन्डर हेरेरा, इड्रिसा गाना गुआइ, रहँदा डिफेन्समा जुआन बेर्नाट, प्रेसनेल केम्पेम्वे, थिलो केरहर र लेभिन कुर्जावा रहेका थिए ।

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्