उपभोक्ता ठगेको भन्दै एनसेललाई स्पष्टीकरण


 


काठमाडौं, भदौ २७

ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा र प्याक स्वतः नवीकरण गरी सवा अर्ब रुपैयाँ ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणको निर्देशनविपरीत विभिन्न शब्दावली प्रयोग गरी ग्राहकले प्रयोग गरिरहेका विभिन्न सेवाको स्वतः नवीकरण गरी एनसेलले सवा अर्ब ठगी गरेको प्राधिकरणको भनाइ छ ।

‘सेवाग्राहीको स्वीकृतिबेगर नियोजित रूपमा सेवाहरू स्वतः नवीकरण गरेर शुल्क असुली गरेको देखियो,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘ग्राहकलाई क्षतिपूर्ति भराउने उद्देश्यले स्पष्टीकरण सोधेका हौं ।’ तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्ने गरी प्राधिकरणले भदौ १९ गते एनसेलका नाममा पत्र काटेको छ । ‘कोभिड–१९ का कारण कर्मचारी घरमा रहेको भन्दै एनसेलले स्पष्टीकरण पेस गर्न अर्को एक साताको समय मागेकाले थप गरिदिएका छौं,’ अध्यक्ष खनालले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए सेवाग्राहीलाई क्षतिपूर्ति भराउँछौं ।’

सेवाहरू स्वतः नवीकरण नगर्नू भनी प्राधिकरणले दिएको निर्देशन अटेर गरी एनसेलले ग्राहकबाट गैरकानुनी शुल्क लिएको देखिएको उनको भनाइ छ । ०७५ असोज १४ को निर्णयअनुसार प्राधिकरणले असोज १५ मा एनसेललाई भ्यालु एडेड सेवा भ्यास को स्वतः नवीकरण बन्द गर्न निर्देशन दिएको थियो । एनसेलले ०७५ जेठदेखि ०७७ वैशाखसम्ममा दैनिक नवीकरण, मासिक नवीकरण, साप्ताहिक नवीकरण र तीनदिने नवीकरण जस्ता शीर्षकमा ग्राहकको स्वीकृतिबेगर एक अर्ब २ करोडभन्दा बढी रकम असुलेको प्राधिकरणको अध्ययनले देखाएको छ । ‘ग्राहकले प्याकको सेवा बन्द गर्दासमेत स्वतः नवीकरण गरेर शुल्क लिएको उजुरीपछि प्राधिकरणले अध्ययन गरेको हो,’ अध्यक्ष खनालले भने ।

‘प्राधिकरणले भ्यासको स्वतः नवीकरण बन्द गर्न निर्देशन दिइएकोमा सोविपरीत एप ग्यालरीका विभिन्न सेवा रिन्यु, रिकरिङ, रिन्युअलजस्ता शब्दावली प्रयोग गरी सेवाग्राहीको स्वीकृतिबिना शुल्क लिइरहेको पाइएकाले सेवाग्राहीलाई पुग्न गएको हानिनोक्सानीको जम्मा बिगो रकम १ अर्ब २ करोड २ लाख ८९ हजार असुल गरी सेवाग्राहीलाई क्षतिपूर्ति किन नभराउने ’ प्राधिकरणले एनसेललाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

एनसेलले अर्कै शीर्षकमा १२ करोड एक लाखभन्दा बढी महसुल संकलन गरेको पनि अध्ययनले देखाएको छ । ‘गेमलोफ्टका विभिन्न प्याक स्वतः नवीकरण गरी ०७६ जेठदेखि ०७७ वैशाखसम्म करबाहेक १२ करोड १ लाख २७ हजार आम्दानी देखिएको छ,’ प्राधिकरणले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

एनसेलले मोबाइल सेवा प्रदायकको अनुमति पत्रको सर्तविपरीत प्राधिकरणबाट महसुल दर स्वीकृत नगराई ०७५ साउन १ गतेदेखि एप ग्यालरी नामको भ्यालु एडेड सर्भिसका विभिन्न प्याक सञ्चालन गरी सेवाग्राहीबाट शुल्क लिइरहेको पनि प्राधिकरणको निष्कर्ष छ । ‘प्राधिकरणबाट शुल्कको स्वीकृति नलिई स्वतः नवीकरण हुने गरी सञ्चालनमा रहेका गेमलोफ्ट र एप ग्यालरी नामका भ्यास सेवा तथा स्वतः नवीकरण हुने गरी सञ्चालित सबै सेवा तत्काल किन बन्द नगर्ने रु’ प्राधिकरणले लेखेको स्पष्टीकरणमा भनिएको छ, ‘र, प्राधिकरणबाट दिएको निर्देशन पालना नभएसम्म विदेशी मुद्रा सिफारिसलगायत प्राधिकरणबाट प्रदान गरिने सेवासुविधा किन उपलब्ध गराउने रु प्रस्ट पार्ने ।’

एनसेलले भ्यास सेवा र भ्वाइस, डेटा प्याकेजलगायत सेवा सञ्चालन गर्दा सब्स्क्रिप्सन पेज, एसएमएस नोटिफिकेसन, मोबाइल एप, बिलिङ सिस्टममा फरकफरक शब्दावली प्रयोग गरी सेवाग्राहीलाई झुक्याउने कार्य गरेको पनि प्राधिकरणको निष्कर्ष छ । ‘एक रूपता कायम हुने गरी शब्दावली प्रयोग किन नगरेको ’ प्राधिकरणको पत्रमा भनिएको छ, ‘ग्राहकले सजिलै सेवा बन्द गर्ने जानकारी, सेवा बन्द गर्न सक्ने बटन, कुन–कुन सेवा लिएको र कति दर रेटको शुल्क लागिरहेको छ, सो विषयहरू सजिलै हेर्न सक्ने गरी मोबाइल एपमा किन सेवाग्राहीलाई जानकारी उपलब्ध नगराएको  ?’

दूरसञ्चार ऐनमा रहेको थोरै जरिवाना व्यवस्थाको लाभ उठाउँदै एनसेल पटक–पटक यस्तो काममा संलग्न हुँदै आएको छ । ऐनमा अनुमति पत्रको सर्त उल्लंघन गरे वा प्राधिकरणको निर्देशन पालना नगरे बढीमा ५ लाखसम्म जरिवाना गर्ने प्रावधान छ । यसअघि प्राधिकरणबाट शुल्क स्वीकृत नगराई सेवाग्राहीबाट साढे ४ अर्ब रुपैयाँभन्दा बढी रकम असुलेको घटनामा प्राधिकरणको सञ्चालक समितिले एनसेललाई १० लाख जरिवाना तिराउने निर्णय गरेको थियो । प्राधिकरणको अनुसन्धानले यसअघि एनसेलले म्याजिक भ्वाइस, लभ डिटेक्टरजस्ता भ्यास सेवा सञ्चालनका लागि शुल्क स्वीकृत नगराई सेवाग्राहीबाट ४ अर्ब रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको थियो । कान्तिपुरबाट

प्रकाशित मिति: २७ भाद्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्