एकै खेलमा पाँच रेडकार्ड, १२ वटा पहेँलो


 


काठमाडौं, भदौ २९ एजेन्सी

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पीएसजी० र मार्सेबीच आइतबार भएको फ्रेन्च लिग वानको खेलमा ब्राजिलियन सुपरस्टार नेयमारसहित ५ खेलाडीले रातो कार्ड प्राप्त गरे ।

पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए ।

खेल अवधिभर निकै आक्रामक रुपमा देखिएका दुवै टोलीका खेलाडी अन्त्यतिर हात हालाहाल मै उत्रँदा रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाए । त्यसअघि उनले १२ पटक पहेंलो कार्ड देखाउन बाध्य भएका थिए ।

रेफ्रीले हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाए । त्यसपछि मुख्य फलमा आबद्ध लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिनुपर्यो ।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी मुक्का हानेको देखिएको थियो । रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए । नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताए । उनले खेलपछि बोल्दै अल्भारोलाई टाउको पछाडी नभएर मुखमा मुक्का हान्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।

प्रकाशित मिति: २९ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्