मेस्सीले एल क्लासिको गुमाउने सम्भावना


 


बार्सिलोना, असोज २ एजेन्सी

क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सिजनको पहिलो ‘एल क्लासिको गुमाउने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय ड्युटी र त्यसपछि अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्ने भएका कारण रोनाल्ड कोम्यानले आफ्नो स्टार मेस्सीविनै सिजनको पहिलो क्लासिको खेल्नुपर्ने सम्भावना रहेको हो । अर्जेन्टिनाले अर्को महिना विश्वकप छनोट अन्तर्गत इक्वेडर र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले ८ अक्टोबरमा इक्वेडर तथा १३ अक्टोबरमा बोलिभियासँग खेल्ने तालिका छ ।

स्पेनमा हालको नियमअनुसार दक्षिण अमेरिकी राष्ट्रबाट स्पेन आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । सोही समयमा सिजनको पहिलो एल क्लासिको अर्थात रियल म्याड्रिडसँगको खेल पर्ने भएकाले मेस्सीले गुमाउने सम्भावना बढेको हो । ला लिगाको खेल तालिका अनुसार मेस्सीले गेटाफे, एलाभेस र रियल म्याड्रिडविरुद्धको खेल गुमाउने सम्भावना छ ।

विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले युरोपमा रहेका दक्षिण अमेरिकी खेलाडी छनोट खेलको लागि उपलब्ध गराउनुपर्ने बताएपछि क्लबहरुले यसमा असहमति जनाएका छन् । अर्जेन्टिना आफ्नो कप्तानलाई टोलीमा समेट्दै विश्वकप छनोट खेल्ने योजनामा रहँदा बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान पनि मेस्सीलाई रियल म्याड्रिडविरुद्धको खेल गुमाउन चाहदैनन्।

सबै पक्षबीच यस विषयमा छलफल भइरहेको बुझिएको छ । क्लबबाट राष्ट्रिय टोलीमा जाँदापनि स्वास्थ्यको हिसाबले गम्भीर रहेको वातावारणमा खेल हुने भएकाले क्वारेन्टिनमा कडाइ नगर्न क्लबहरुको आग्रह रहेको छ । मेस्सीले ला लिगाको नयाँ सिजन सुरु हुनु अघि खेलिएको अन्तिम मैत्रीपुर्ण खेलमा दुई गोल गरिसकेका छन् ।

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्