दसैँको समयमा अन्धकार भोजपुर


 


bhojpur

भोजपुर, असोज १९

विद्युत् सेवा तीन दिनयता अवरुद्ध हुँदा दसैँको समयमा भोजपुर जिल्ला अन्धकार बनेको छ ।

हिले—भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत् प्राधिकरण भोजपुरले विद्युत् सेवा सञ्चालन गर्न नसकेको हो । आइतबारदेखि गएको विद्युत् सेवा अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सरकारी कामकाज र सञ्चार गृह सबैभन्दा बढी प्रभावित हुनाका साथै भोजपुर सदरमुकाम र आसपासका क्षेत्र अन्धकारमय बनेको हो ।

पछिल्लो समयमा आएर सबै काम कम्प्युटर प्रणालीबाट हुने गरेका कारण विद्युत् सेवा अवरुद्ध हुँदा सेवा सहजरुपमा प्रवाह गर्न समस्या भएको हो । विद्युत् सेवा मर्मत भएर सञ्चालन नहुँदा दसैँको समयमा कुटानी–पिसानी गर्ने मिल सञ्चालनमा समेत समस्या भएको छ ।

कार्यालय बन्द हुने समयमा विद्युत् लाइन सञ्चालन नहुँदा सबैभन्दा बढी मार सदरमुकाममा रहेका सरकारी तथा निजी बैंकलाई परेको छ ।

रकम निकाल्नका लागि गाँउ–गाँउबाट सर्वसाधारण तथा कर्मचारी आउने गरेको भए पनि विद्युत् सेवा नहुँदा समस्या भएको सम्बन्धित निकायले बताएका छन् । भोजपुरमा विगतमा पनि पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले भने विद्युत् मर्मतका लागी प्राधिकरणका कर्मचारीलाई खटाइएको जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्