रोहित चन्द इन्डोनेसिया फर्किए


 


काठमाडौं, असोज ७

कोभिड १९ का कारण स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लिग वान पुनः सञ्चालन हुने भएपछि मंगलबार इन्डोनेनिया गएका छन् ।

झन्डै एक दशकयता विदेशमा व्यवसायिक फुटबल खेलिरहेका रोहित केहि वर्षयता पर्सिजा जाकार्तामा आबद्ध छन् । खेल तालिका सार्वजनिक नभएपनि स्थगित लिग पुनः सुरु हुन भएपछि क्लबले बोलाएको रोहितको व्यवस्थापन समेत हेर्दै आएका दाजु रबिनले जानकारी दिए ।

पर्सिजाले सन् २०१८ मा लिग वानको उपाधि जित्दा रोहित टोलीका महत्वपूर्ण सदस्य थिए । त्यति बेला उनी सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । रोहितले गत वर्ष मात्र पर्सिजासँग २ वर्षका लागि सम्झौता नविकरण गरेका हुन् ।

रोहितले झन्डै ३ महिना नेपालमा परिवारसँग बस्न पाउँदा निकै खुसी लागेको बताए । ‘झन्डै ३ महिना परिवार र साथीभाईसंग बस्न पाएँ । निकै रमाइलो भयो । अब उत्साहित भएर फर्कंदै छु,’ उनले भने, ‘ अब नेपाल फर्कने कहिले थाहा छैन । सायद नेपालको खेल हुँदा फर्कनेछु ।’

मार्च देखि लिग वान स्थगित भएपछि रोहित असार १२ गते स्वदेश फर्केका थिए । फेब्रुअरीमा सुरु भएको लिग केहि चरणका खेल आयोजना भएसँगै स्थागित भएको थियो । पर्सिजाले यो सिजन २ खेलमा १ जित र अर्कोमा हार बेहोरेको छ । अब लिग सुचारु हुँदा स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै होम एण्ड अवे नभएर एकै क्षेत्रमा लिग खेलाउने तयारी रहेको छ ।

रोहित पर्सिजाको टोलीमा पुराना मध्यका खेलाडी हुन् । उनी समर्थकमाझ पनि उत्तिकै लोकप्रिय छन् । पर्सिजाको मिडफिल्ड सम्हाल्दै आएका उनी प्रशिक्षक पहिलो रोजाईका खेलाडी हुन् । डिफेन्डरका रुपमा करिअर सुरु गरेका रोहितले राष्ट्रिय टोलीबाट पनि मिडफिल्डरकै भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रकाशित मिति: ७ आश्विन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्